काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरुत्थानको वर्ष बन्नुपर्ने बताएका छन्। सन् २०२५ मा लोकतन्त्र भत्काइएको र संविधान मिचिएको उल्लेख गर्दै त्यसलाई सन् २०२६ मा मजबुत बनाएर उठाउनुपर्ने आवश्यकता रहेको उनले बताए।
नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको दाबी गरे।
‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो। यो जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो,’ अध्यक्ष ओलीले भने।
वर्तमान सरकार असंवैधानिक रहेको दाबी गर्दै उनले अनधिकृत व्यक्तिको सिफारिसमा संसद् विघटन गरिएको आरोप लगाए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले त्यसका लागि आवश्यक पहल नगरेको ओलीको भनाइ थियो।
उनले नेताहरूविरुद्ध झुटा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नगर्ने, जेलब्रेक गर्नेहरूलाई अगाडि सार्ने तथा निर्वाचनका बेला बुथ कब्जा गर्न खोज्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिए।
‘निर्भयपूर्वक मतदान हुन सकेन भने निर्वाचन लोकतन्त्रलाई सुदृढ बनाउने होइन, केवल एक “ड्रामा” मात्र हुनेछ,’ ओलीले भने।
निर्वाचनमा जनअभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण र स्वच्छ वातावरणमा हुने निर्वाचनमा एमाले सहभागी मात्र नभई विजय हासिल गर्ने दाबी गरे।
‘निर्वाचन भइहाल्यो भने त्यसका लागि हामी पूर्ण रूपमा तयार रहनुपर्छ। आफ्नो सामर्थ्यलाई नतिजामा बदल्ने गरी लाग्नुपर्छ। सबै तरिकाले निर्वाचनका लागि तयार रहनुस्,’ उनले कार्यकर्तालाई आह्वान गरे।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्