Skip to content

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल बढ्दै

कालोपाटी

४ दिन अगाडि

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको देखिएको छ ।

प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शुरू भइसकेको छ भने स्टलहरूमा लाइन लागेर दर्ता गराउनेको भीड देखिएको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको यस महाधिवेशनमा झन्डै ६० प्रतिशत प्रतिनिधि सहभागी हुने आयोजकको दाबी छ ।

पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा धेरै प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरेर यो महाधिवेशन आह्वान गरिएको हो । दर्ता शुल्क प्रतिव्यक्ति रु १,००० तोकिएको छ ।

महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । उद्घाटनअघि काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट र्याली तथा जुलुस निकालेर महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला भइरहेका छन् ।

तर, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यो महाधिवेशनलाई मान्यता दिन अस्वीकार गरेको छ। उनीहरूले नियमित १५औँ महाधिवेशनको मिति तोकिसकेको कारण विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन्।

महाधिवेशनमा पार्टी नेतृत्व परिवर्तन, नीति पुनरावलोकन र संरचनात्मक सुधार जस्ता एजेन्डा मुख्य रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्