Skip to content

‘कांग्रेस परिवर्तनका लागि प्रश्न उठाउनु विद्रोह हो’ : गगन थापा

कालोपाटी

२० घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन्।

मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डपमा आयोजित कार्यक्रम नियमित औपचारिक कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको बताए।

‘यो नियमित कार्यक्रम होइन। हामी विद्रोहमा सहभागी भएका छौँ। यो विद्रोह हो। प्रश्न गर्नु पनि विद्रोह हो,’ उनले भने।

महामन्त्री थापाले मौन बस्नु मृत्युलाई स्वीकार्नुजस्तै हुने टिप्पणी गर्दै पार्टी र आफ्नै भविष्यका लागि प्रश्न उठाइएको स्पष्ट पारे।
‘कहिलेकाहीँ मौन बस्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो। हामीले प्रश्न गरेका छौँ, त्यो हाम्रो र पार्टीको भविष्यका लागि हो,’ उनको भनाइ थियो।

आफूहरू कुनै पद वा हैसियतका लागि नभई पार्टी परिवर्तनका लागि आन्दोलनरत रहेको उल्लेख गर्दै उनले भने, ‘हामी यहाँ केही बन्न आएका होइनौँ। केही बन्न आतुर भएर यो कार्यक्रम आयोजना गरिएको पनि होइन। प्रश्न पनि केही बन्नका लागि गरिएको होइन।’

कांग्रेस परिवर्तनका लागि तयार रहेको र बदलिएको कांग्रेसले देश परिवर्तन गर्ने जिम्मेवारी लिन सक्ने सन्देश दिन दुई दिनसम्म संकल्प गरिएको उनले बताए।
‘नारामा भनिएझैँ कांग्रेस बदलिन तयार छ, र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन सक्छ,’ उनले भने।

बन्दसत्रमा अनुपस्थित पार्टी सभापति, जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिहरूलाई समेत समेटेर छलफल गरिएको उल्लेख गर्दै महामन्त्री थापाले भने,
‘यहाँ उपस्थित नहुनुभएका पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरू पनि यहाँ उपस्थित हुनुहुन्छ भन्ने ठानेर कुर्सी राखी छलफल गरिरहेका छौँ, किनकि हामी सिङ्गो कांग्रेस बनेर छलफल गरिरहेका छौँ।’

महामन्त्री थापाले हजारौँको संख्यामा सहभागी महाधिवेशन प्रतिनिधिहरूको दुई दिनदेखिको भेलालाई हल्कामा नलिन आग्रह गरे। साथै उनले महाधिवेशन प्रक्रिया अघि बढिसकेको भन्दै अनावश्यक दखलअन्दाजी नगर्न पनि चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्