Skip to content

‘धितो-जमानी नभएकालाई भोट नदिनुस्’ : केपी ओली

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौँ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो र जमानी नभएको व्यक्तिलाई मतदान गरेर आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गर्नुभएको छ।

झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले समेत धितो–जमानी बिना नोट नछाप्ने उदाहरण दिँदै भोट हाल्दा पनि जिम्मेवार र चिनिएको व्यक्तिलाई रोज्नुपर्ने जिकिर गर्नुभयो। २०६४ सालमा नचिनेका उम्मेदवारलाई मत दिँदा देश विकासमा पछि परेको स्मरण गराउँदै फेरि त्यही गल्ती नदोहो¥याउन उहाँको आग्रह थियो।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै आफूले महोत्तरीस्थित साहको घरअगाडि सडक र पुल निर्माण गरिदिएको दाबी गर्नुभयो। तर झापाका लागि साहले के योगदान गर्नुभएको छ ? भन्ने प्रश्न उठाउँदै उहाँले बाहिरबाट आउने ‘पर्यटक उम्मेदवार’ भन्दा स्थानीय उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो।

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने क्रममा साहको भूमिकालाई लिएर झापाका सुकुम्बासीमा पनि डर पैदा भएको गुनासो आफूले सुनेको अध्यक्ष ओलीले बताउनुभयो। सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमबाट मुक्त हुन पनि उहाँले आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले नेकपा एमाले बहुमत ल्याउन, सत्ता प्राप्तिका लागि मात्रै नभई देश जोगाउन, शान्ति–सुव्यवस्था कायम गर्न, सुशासन र विकास ल्याउन तथा संविधानलाई सही ट्रयाकमा ल्याउन संघर्षरत रहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “हामी पदका लागि मात्रै होइन, लोकतन्त्रलाई मजबुत बनाउन र देशलाई अघि बढाउन संघर्ष गरिरहेका छौँ। २०६४ सालमा नयाँलाई भनेर दिएको भोटको परिणाम जनताले भोगिसकेका छन्। विकास भएन, जनतासँग सम्पर्क भएन। अब सचेत भएर निर्णय गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार