Skip to content

बाबुरामको ‘यू–टर्न’: त्यागको नाटक कि शीतल निवास छिर्ने भित्री दाउ ?

कालोपाटी

२ घण्टा अगाडि

नेपाली राजनीतिमा डा. बाबुराम भट्टराई यस्ता पात्र हुन्, जसको निर्णयले जति धेरै चर्चा पाउँछ, त्योभन्दा बढी संशय र प्रश्नहरू उब्जाउँछ । उम्मेदवारी दर्ताको दुई दिनअघि मात्रै ‘म चुनाव लड्छु’ भन्दै नाटकीय रूपमा गोरखा–२ पुगेका बाबुरामले उम्मेदवारी फिर्ता लिँदा झनै रहस्यमय शैली अपनाएका छन् । यसअघि २०७९ को निर्वाचनमा ‘अब प्रत्यक्ष चुनाव लड्दिनँ’ भनेर सार्वजनिक घोषणा गरेका उनले यसपटक आफ्नै शब्दलाई लत्याउँदै मनोनयन दर्ता गराएका थिए । तर, निर्वाचन अधिकृतको कार्यालयमा वारेसनामामार्फत उम्मेदवारी फिर्ताको निवेदन पुग्दासम्म बाबुरामले अर्को राजनीतिक चाल चलिसकेका छन् । बाहिर हेर्दा यो अन्य दलहरूको आग्रहमा गरिएको ‘त्याग’ जस्तो देखिए पनि यसको भित्री त्यान्द्रो आगामी फागुन २१ पछि फेरिने सत्ता समीकरण र रिक्त हुन सक्ने ‘राष्ट्रपति’ पदसँग जोडिएको बलियो आशंका छ ।

प्राविधिक विषय मात्र होइन
भट्टराईको उम्मेदवारी फिर्ता केवल एउटा निर्वाचन क्षेत्रको प्राविधिक विषय मात्र होइन । उनले उम्मेदवारी फिर्ता लिनुअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेसँग गरेको सघन छलफलले धेरै कुरा स्पष्ट पार्छ । विशेषगरी रास्वपाका नेताहरूले उनलाई ‘देशको अभिभावक’ र ‘वरिष्ठ मार्गदर्शक’ को रूपमा गरेको चित्रणले बाबुरामको आगामी गन्तव्य शीतल निवासतर्फ सोझिएको संकेत गर्छ । स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा त सिधै लेखेका छन् कि फागुन २१ पछि बन्ने नयाँ सरकार र संक्रमणकालीन व्यवस्थापनमा बाबुरामको अनुभव उपयोग गरिनेछ । राजनीतिमा ‘अभिभावकीय भूमिका’ भन्ने शब्दको सोझो अर्थ कार्यकारी पदभन्दा माथिको संवैधानिक भूमिका हो, जसका लागि बाबुरामले अहिले गोरखाको कठिन चुनावी मैदानबाट हात झिकेका हुन् ।

असहज अंकगणित र हारको डर
गोरखा–२ को चुनावी अंकगणित यसपटक बाबुरामका लागि सहज थिएन । एकातिर नेकपा एमालेले मिलन गुरुङ (मिलन चक्रे) जस्ता आक्रामक उम्मेदवार उठाएको छ भने अर्कोतिर रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र कांग्रेसका प्रकाशचन्द्र दवाडी पनि बलिया प्रतिस्पर्धी हुन् । अघिल्लो निर्वाचनमा प्रचण्डलाई सहयोग गरेर आफूलाई ‘किंगमेकर’ देखाउन खोजेका बाबुरामले यसपटक आफ्नै जित सुनिश्चित नदेखेपछि ‘सेफ ल्यान्डिङ’ को बाटो रोजेको प्रष्ट देखिन्छ । यदि उनी चुनावी प्रतिस्पर्धामा उत्रिएर पराजित भएको भए उनको राजनीतिक उचाइ र भावी राष्ट्रपतिको दाबेदारी दुवै समाप्त हुने थियो । त्यसैले, चुनाव हारेर अपमानित हुनुभन्दा उम्मेदवारी फिर्ता लिएर प्रचण्ड र रास्वपालाई ‘गुन’ लगाउनु उनले लाभदायक ठाने । यो उनको ‘त्याग’ होइन, बरु एउटा रणनीतिक बार्गेनिङ हो, जहाँ उनले आफ्नो उम्मेदवारीलाई राष्ट्रपतिको पदसँग साटेको देखिन्छ ।

अस्थिर मानसिकता कि रणनीतिक चातुर्य?
बाबुरामले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी दिनु र फेरि फिर्ता लिनुले उनी अस्थिर रहेको सन्देश त दिएकै छ, तर यसले उनलाई ‘साझा उम्मेदवार’ बन्ने बाटो पनि खोलिदिएको छ । उनले कसलाई समर्थन गर्ने भन्ने नखुलाउनुको अर्थ पनि यही हो— उनी सबै पक्षसँग आफ्नो मोलतोल जीवितै राख्न चाहन्छन् । प्रचण्डलाई गोरखामा लेखनाथ न्यौपाने जिताउन बाबुरामको सहयोग चाहिन्छ भने रास्वपालाई आफ्नो महामन्त्री बुर्लाकोटीको पक्षमा जनमत पार्न बाबुरामको ‘अभिभावक’ छवि आवश्यक छ । यही आवश्यकताको बीचमा बाबुरामले आफ्नो लागि शीतल निवासको ग्यारेन्टी खोजेका हुन् । राष्ट्रपतिको पदका लागि दलीय सक्रियता नभएको र बौद्धिक व्यक्तित्वको खोजी हुने सन्दर्भमा बाबुरामले आफूलाई उपयुक्त पात्रका रूपमा प्रस्तुत गर्न खोजेका छन् ।

तीतो यथार्थ: निस्वार्थ राजनीतिमा अविश्वास
नेपाली राजनीतिको एउटा तीतो यथार्थ के हो भने यहाँ कुनै पनि नेताले बिनास्वार्थ मैदान खाली गर्दैनन् । बाबुराम जस्तो महत्त्वाकांक्षी नेता, जसले जनयुद्धदेखि संविधान निर्माणसम्मको नेतृत्व गरे, उनी केवल अरूलाई जिताउन मात्रै घर बस्ने पात्र होइनन् । रास्वपा उपसभापति वाग्लेले ‘मुलुक परिवर्तनको संघारमा भएका बेला बाबुरामलाई सघाउन आग्रह गरेको’ भन्नुले पनि आगामी सत्ता समीकरणमा बाबुरामको ठूलो भूमिका रहने निश्चित गर्छ । त्यो भूमिका सायद मन्त्री वा सांसद होइन, बरु यो देशको सर्वोच्च संवैधानिक पद नै हो । बाबुरामको उम्मेदवारी फिर्ताको निर्णयलाई ‘राजनीतिक सन्न्यास’ को रूपमा बुझ्नु गलत हुनेछ । बरु यो त सत्ताको शिखरमा पुग्ने अन्तिम प्रयासको रूपमा चालिएको एउटा ‘चाणक्य नीति’ हो ।

अन्त्यमा,
बाबुरामको यो ‘यू–टर्न’ ले गोरखाको निर्वाचनलाई त प्रभावित पार्ने नै छ, तर त्यसभन्दा ठूलो प्रभाव संघीय राजनीतिमा पर्ने देखिन्छ । उनले वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिएर आफूलाई चुनावी हिलोबाट त जोगाएका छन्, तर के उनले सोचेजस्तै अन्य दलहरू उनलाई शीतल निवास पुर्‍याउन तयार होलान् ? यो प्रश्नको उत्तर फागुन २१ पछि बन्ने समीकरणले दिनेछ ।

यदि भोलि बाबुरामलाई राष्ट्रपतिको साझा उम्मेदवारको रूपमा अगाडि सारियो भने, आजको यो उम्मेदवारी फिर्ता केवल एउटा सानो कदम मात्र हुनेछैन, बरु त्यो नेपालको राजनीतिमा ‘लेनदेन’ को एउटा नयाँ मानक बन्नेछ । बाबुरामको यो कदमलाई लिएर अहिले भइरहेको प्रशंसा वा आलोचना जे भए पनि, उनको आँखा गोरखाको संसद भवनमा होइन, शीतल निवासको कुर्सीतिरै सोझिएको कुरालाई नजरअन्दाज गर्न सकिँदैन । डाक्टर साबले ‘मुलुकलाई अभिभावक चाहिएको छ’ भन्नुको अर्थ ‘मलाई राष्ट्रपति बनाऊ’ भनिएको त होइन? यो प्रश्नको जवाफ समयले नै दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार