Skip to content

‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’ : अध्यक्ष ओली

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको वास्तविक आधार भएको बताएका छन्। आफ्नी श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक अवस्था र आफ्नो संघर्षपूर्ण जीवनका विभिन्न पाटाहरू उजिल्याएका छन्।

विशेष गरी दुई तिहाइको हैसियतमा पुगेको पार्टीलाई स्वार्थका कारण फुटाएर देशलाई कमजोर बनाउने तत्वहरूप्रति उनले निकै आक्रामक रूपमा असन्तुष्टि पोखेका छन्। सानो बिन्दुबाट सुरु गरेर एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले रगत पसिना बगाएको स्मरण गर्दै ओलीले पार्टीको सफलता सहन नसक्नेहरूले नै आन्दोलनलाई कमजोर पारेको दाबी गरे।

आफ्नो कार्यशैली र राजनीतिक अडानको बचाउ गर्दै उनले आफू अरूले बनाएको बाटोमा हिँड्ने नभई भीरपखेरामा हामफालेर नयाँ ट्रयाक खोल्ने मान्छे भएको बताए। कठिन भूगोलमा ब्लास्टिङ गरेर बाटो बनाउने मान्छे सुरुमा आफैँ अप्ठ्यारोमा पर्नुपर्ने यथार्थ सुनाउँदै उनले जिन्दगीभर नयाँ चुनौती मोलेर अघि बढेको जिकिर गरे। सही कामका लागि गरिएको जिद्दीले नै नेपालमा गणतन्त्र र ठूला परिवर्तनहरू सम्भव भएको उनको तर्क थियो।

आफ्नो विगतका कठिन दिनहरूको चर्चा गर्ने क्रममा ओली केही भावुक समेत देखिए। पञ्चायत र राजतन्त्र विरुद्धको लडाइँमा किशोरावस्थादेखि नै होमिएका उनले १४ वर्षको लामो जेल जीवन र भूमिगत कालका चुनौतीहरू सुनाए। सोही समयमा पक्राउ पर्ने डरले आफ्ना कैयौँ साहित्यिक सिर्जना र नोटहरू नष्ट गर्नुपरेको पीडा व्यक्त गर्दै उनले अहिले पनि धेरै कुरा स्मृतिबाटै बोल्ने बानी परेको बताए।

राजनीतिमा पारदर्शिता र त्यागको महत्वबारे बोल्दै उनले आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको र श्रीमतीको कमाइमा गर्वका साथ बाँचेको खुल्ला घोषणा गरे। आफूलाई जोइटिंग्रेु भन्न रुचाउने ओलीले यसलाई सामाजिक न्याय र लैङ्गिक समानताको एउटा नयाँ भाष्यका रूपमा व्याख्या गरे।

कार्यक्रममा ओलीले युवा पुस्तालाई समयको महत्व बुझ्न र देशको भविष्यप्रति सचेत हुन विशेष आग्रह गरे। समयका साना डटहरूको जोडाइ नै जिन्दगी भएको भन्दै उनले टाइम पास गरेर जिन्दगी खेर नफाल्न सुझाव दिए। देशको घट्दो जनसंख्या र जनसांख्यिकीय सन्तुलनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले युवाहरूलाई समयमै विवाह गर्न र सन्तान जन्माएर मुलुकको अस्तित्व सुरक्षित गर्न समेत आह्वान गरे।

राजनीतिक नेतृत्वले समयको हरेक पललाई देश निर्माणमा खर्चिनुपर्नेमा जोड दिँदै उनले एमालेलाई पुनः देशको निर्णायक शक्तिका रूपमा अघि बढाउने संकल्प दोहोऱ्याए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार