Skip to content

‘नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्’: महासचिव पोखरेल

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । नेकपा (एमाले)का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर -२का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने दाबी गर्नुभएको छ ।
आफ्नो मतदान अधिकार प्रयोग गरेपछि प्रतिक्रिया दिँदै महासचिव पोखरेलले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले यस निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण घटनाका रूपमा लिनुपर्ने बताउनु भयो । नेपालको राजनीतिक अस्थिरता नै विकास र समृद्धिको मुख्य बाधक रहेको बताउँदै उनले समाजमा देखा परिरहेको ‘पपुलिज्म’ (लोकरिझ्याइँ) र ‘एनार्किजम’ (अराजकता) राजनीतिक स्थायित्वका लागि ठूलो चुनौती रहेको औंल्याउनु भयो ।

यसै निर्वाचनबाट सबै समस्याको समाधान नभए पनि यसले सही बाटो समात्ने र भविष्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्ने उहाँको भनाइ छ । निर्वाचन परिणामबारे बोल्दै पोखरेलले विचारधाराको जगमा उभिएका नेपालका प्रमुख राजनीतिक दलहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने दाबी गर्नुभयो ।

मुलुकलाई अराजकता र विध्वंशतर्फ लैजाने कुरा राष्ट्रको दीर्घकालीन हितमा नहुने कुरा नेपाली जनताले महशुस गरिसकेको उहाँले बताउनु भयो । दक्षिण एशियाली मुलुकहरू श्रीलंका र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामको उदाहरण दिँदै पोखरेलले ती देशका जनताले जस्तै नेपाली जनताले पनि विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यतिबेला मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हितका प्रश्नहरु जोखिममा परेका बेला जनमतका माध्यमबाट ती चिजहरुलाई पुनःस्थापित गर्ने कुराको ठूलो महत्व छ । र त्यस अर्थमा यसलाई नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण घटनाका रुपमा लिनुपर्दछ । यसले स्वभाविक रुपमा लोकतन्त्रलाई सहि दिशा प्रदान गर्नेछ भन्ने कुराको विश्वासका साथ मैले मतदान गरेको छु । अब भविष्यलाई त कसैले अब पूर्वानुमान गर्न गाह्रो हुन्छ ।

तर नेपालको राजनीतिक अस्थिरता, नेपालको विकास र समृद्धिको वाधक हो भन्ने कुराको सरयलाइजेसन अब आम जनतामा पर्नु जरुरी छ । यतिबेला हाम्रो समाजमा देखा परिरहेको पपुल्लिजम र एनार्किजम नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रुपमा रहेको छ । यसपटककै निर्वाचनका माध्यमबाट सबै चिजको समाधान हुन्छ भन्नेकुराको सुनिश्चितता त छैन तर यसले सहि बाटो समात्दछ र भविष्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्दछ । त्यसको जग यस निर्वाचनबाट प्राप्त हुने कुरामा म विश्वस्त छु । निर्वाचनको परिणाम त अब मलाई के लाग्दछ भन्दाखेरि नेपालका प्रमुख राजनीतिक दलहरु जो विचारधाराको जगमा उभिएका छन्, उनीहरू नै मुख्य शक्तिका रुपमा स्थापित हुने कुरामा कुनै सन्देह छैन ।

किनकि मुलुकलाई अराजकतातर्फ, विध्वंश तर्फ लिएर जाने कुरा मुलुकको दीर्घकालीन हितमा हुँदैन भन्नेकुरा चाहीँ नेपाली जनताले महशुस गरेको देखिन्छ । र खासगरी दक्षिण एशियामा पछिल्ला समयमा नेपालकै जस्तो घटना घटेका मुलुकहरू श्रीलंका र बंगलादेशमा भएका निर्वाचनका परिणामहरूले पनि राष्ट्रको विध्वंशमा संलग्न हुनेहरूलाई अस्वीकार गरेको देखिन्छ। अराजकतालाई अस्वीकार गरेको देखिन्छ, अस्थिरतालाई अस्वीकार गरेको देखिन्छ ।

त्यस अर्थमा चाहिँ श्रीलंका र बंगलादेशका जनताले जुन प्रकारको सचेतता देखाएका छन्, त्यो भन्दा कम सचेत जनता नेपाली जनता होइनन् भन्नेकुरा स्पष्ट छ र त्यो कुरा जनमतका माध्यमबाट प्रकट हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’
उहाँले श्रीलंका र बंगलादेशका जनताले जुन प्रकारको सचेतता देखाएका त्यो भन्दा कम सचेत नेपाली जनता नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार