Skip to content

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

कालोपाटी

१५ घण्टा अगाडि

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । मंलबारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो कार्यक्रममा सहभागी तीन दर्जनभन्दा बढी उद्योगीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

सरकारले निजी क्षेत्रको फैलावटका लागि सबै खाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सिर्जना र देशमै केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न उनले आग्रह गरे । सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन पनि उनले उद्योगी-व्यवसायीहरूलाई आग्रह गरे ।

‘तपाईँहरू ढुक्क भएर लगानी विस्तार गर्नुहोस्, रोजगारी सिर्जना गर्नुहोस्, राज्यले के-के गर्नुपर्ने हो हामीलाई निर्धक्क भएर भन्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, “कानुनी, व्यावहारिक सबै अप्ठ्यारोमा सरकार तपाईँहरूसँगै छ । तपाईँहरूको लगानीको सुरक्षाको जिम्मेवारी सरकारको भयो ।’

सरकारको २१ खर्ब २४ अर्बको बजेटले ६६ खर्बको अर्थतन्त्र चलायमान गराउनुपर्ने र त्यसको ड्राइभिङ सिटमा निजी क्षेत्र नै रहेको उनको भनाइ छ ।

बजेटमा निजी क्षेत्रलाई खुला भएर लगानी गरी अघि बढ्न यथेष्ट सुधारका प्रयास गरिएको भन्दै उनले उद्योगी-व्यवसायीहरूलाई थप केही नीतिगत अप्ठ्यारो फुकाउनुपर्ने भए स्पष्टसँग भन्न पनि आग्रह गरे ।

मंगबार पाँच घण्टासम्म उनले उद्योगी-व्यवसायीहरूका समस्याहरू सुनेका थिए । यो क्रममा उठेका अन्तःशुल्क र भन्सार महसुल, निर्यात अनुदान र बैंकिङ क्षेत्रसँग जोडिएर आएका गुनासोहरूलाई संयन्त्र नै बनाएर समाधान गर्नेमा ढुक्क हुन उहाँले निजी क्षेत्रलाई आग्रह गरे ।

बजेटमा उल्लिखित नीति कार्यान्वयनले गति लिइसकेको भन्दै उनले सरकारले आयात प्रतिस्थापन, निजी क्षेत्रको लगानी सुरक्षा र मुनाफा आर्जन गर्न सक्ने निजी क्षेत्रसँग सहकार्य चाहेको स्पष्ट पार्नुभयो। लगानी र उत्पादनशील अर्थतन्त्रको विकासका लागि सरकार-निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार