Skip to content

‘नेपालको संसदीय इतिहासको पुराना डाटाहरू खोज्दै छौं’ : सभामुख अर्याल

कालोपाटी

५१ मिनेट अगाडि

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताएका छन् ।

बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसदलाई प्रविधिमैत्री बनाउँदै लगिने बताए ।

नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको भन्दै उनले थपे, ‘नेपालको संसदीय इतिहासको हामी पुराना डाटाहरू खोज्दै छौं, ती डाटाहरू भेटेसम्म हामी यसलाई डिजिटलाइज गरेर सबै यसैमा समेट्ने प्रयास गर्ने छौँ ।’

उनले आगामी ५ सय वर्षपछि समेत नेपालको संसदीय इतिहास खोज्न र अध्ययन गर्न सकिने गरी अभिलेख तयार पार्ने दीर्घकालीन लक्ष्य राखेको बताए ।

संसद्का बैठकमा सांसदहरूले व्यक्त गरेका अडियो तथा भिडियो सामग्रीसमेत सुरक्षित अभिलेखका रूपमा राखिने उनको भनाई छ ।

उनले संघीय संसदलाई मात्र नभई कार्यपालिका, न्यायपालिका तथा संघ, प्रदेश र स्थानीय सरकारका सेवा प्रवाहलाई समेत नागरिकमुखी र प्रविधिमैत्री बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

नागरिकको राज्य, नेतृत्व, कर्मचारी र सञ्चारमाध्यमप्रतिको विश्वास थप मजबुत बनाउने उद्देश्यसहित डिजिटल रूपान्तरणलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार