Skip to content

कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो, अब कति पर्छ ?

कालोपाटी

२० मिनेट अगाडि

काठमाडौं । कृष्णभीर क्षेत्रमा बाटो अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।

बाढीका कारण मुख्य राजमार्ग बन्द हुँदा वैकल्पिक बाटो प्रयोग गरेर ग्यास आयात गर्दा ढुवानी भाडा बढेको भन्दै व्यवसायीहरूले ग्यासको मूल्य वृद्धि गरेका थिए । अहिले कृष्णभीरमा बाटो पुनः सञ्चालनमा आएसँगै ग्यासको मूल्य पनि घटेको हो ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार नेपाल आयल निगमले काठमाडौंका लागि पिएडओ जारी गरेसँगै ग्यासको मूल्य घटेको हो ।

‘यसअघि मुख्य बाटो बन्द भएर वैकल्पिक बाटोबाट ढुवानी गर्दा भाडा बढेकाले ग्यासको मूल्य वृद्धि भएको थियो,’ घिमिरेले भने, ‘अहिले कृष्णभीरको बाटो खुलेर ग्यासका बुलेटहरू आउन थालेपछि मूल्य पुनः घटेको छ ।’

यसअघि लामो र वैकल्पिक बाटो प्रयोग गरी ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म भाडा समायोजन भई मूल्य वृद्धि भएको थियो । अब भने पुरानै मूल्य २०६० रुपैयाँ प्रति सिलिन्डर मूल्य पर्ने छ ।

देशलाई तीन क्षेत्रमा विभाजन गरी ग्यास वितरण गरिँदै आइएकोमा हालसम्म तराई क्षेत्रको पिएडओबाट काम भइरहेको थियो । अब भने काठमाडौँ र धादिङका लागि पनि पिएडओ जारी भएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले काठमाडौँ उपत्यकाका लागि ग्यास ल्याउन पिएडओ जारी भइसकेको जानकारी दिएका छन् । पिएडओ जारी भएसँगै अब उपभोक्ताले पुरानै मूल्यमा ग्यास पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार