उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन्। एकता सम्भव नभए कार्यगत एकतामार्फत भए पनि सहकार्य गरेर जानुपर्ने उनको धारणा छ।
शुक्रबार बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले भने,
‘सही नेतृत्व र वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ। सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं। त्यसैले नयाँ र मूलधारका सबै शक्तिहरू एक भएर अघि बढ्न म आह्वान गर्छु।’
नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरू एक भएर नयाँ नेतृत्व दिनु नै भएको उनले बताए। ‘आज नेपाली जनताले वैकल्पिक शक्तिहरू एक होउन्, अगाडि बढून् र देशलाई नयाँ नेतृत्व दिउन् भन्ने चाहना राखेका छन्। हामी सबैले यो भावना बुझेर त्यसतर्फ अघि बढ्नुपर्छ,’ वर्तमान सरकारका मन्त्रीसमेत रहेका घिसिङले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच सातबुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो। घिसिङले यसअघि बालेनसँग एकता तथा सहकार्यका विषयमा छलफल अगाडि बढाएका थिए। तर रवि र बालेनबीच सहमति भए पनि घिसिङ हाल उक्त सहकार्यबाट बाहिर रहेका छन्।
घिसिङले उज्यालो नेपाल पार्टी सम्मान, आत्मसम्मान र स्वाभिमान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे। त्यसका लागि गृहकार्य भइरहेको उल्लेख गर्दै उनले केही दिनमै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे।
‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र स्वाभिमान कायम राखेर सहकार्य गर्न हामी तयार छौं। सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यस दिशामा धेरै काम भइरहेको छ र आगामी दिनमा यसको परिणाम देखिनेछ भन्ने विश्वास लिएको छु।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्