काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको बताएकी छन् । उनले निर्वाचन प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्था आएको उल्लेख गरिन् । उनले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गर्दै निर्वाचन नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको स्पष्ट पारिन् ।
मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतन्त्रको मूल मर्म भएको बताइन् । “धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ,” उनले भनिन्, “सबै खालका संशय चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित छ । यो देश मेरो पनि हो भन्ने सोचका साथ सबै जिम्मेवार बनौँ।”
प्रधानमन्त्री कार्कीले सरकार सत्ता उपभोग वा सुखसयलका लागि नभई सुशासन, भ्रष्टाचारको अन्त्य तथा शोषित–पीडित वर्गलाई न्याय दिलाउने उद्देश्यका साथ अघि बढिरहेको बताइन् । तत्काल नतिजा नदेखिए पनि सुधारका आधारशिला तयार पार्दै लगिएको उनको भनाइ थियो ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले दुर्गा प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहारसमेत प्रदान गरिन् । उनले प्रसाईँले उठाएका कतिपय जायज मागहरूको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको र आगामी दिनमा थप संवाद गर्ने प्रतिबद्धता जनाइन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्