काठमाडौँ – कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स–एआई) ले विश्वका हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याइरहँदा शिक्षा क्षेत्र पनि त्यसबाट अछुतो रहने अवस्था छैन। विज्ञहरूका अनुसार आगामी केही वर्षभित्रै एआईले शिक्षण–सिकाइ प्रणालीलाई पूर्णतः रूपान्तरण गर्ने निश्चित देखिएको छ। तर नेपालसहित धेरै मुलुकमा शिक्षा प्रणाली अझै परम्परागत ढाँचामै अल्झिएको छ।
एआई आधारित शिक्षाको एक उदाहरण अमेरिकाको टेक्सासस्थित ‘अल्फा स्कूल’ बनेको छ। अल्फा स्कूललाई विश्वकै पहिलो शिक्षकविहीन विद्यालयका रूपमा चिनिन्छ। यहाँ विद्यार्थीहरू कक्षा कोठामा शिक्षकसँग होइन, एआई ट्युटरसँग संवाद गरेर अध्ययन गर्छन्। विद्यालयमा दिनको केवल दुई घण्टा औपचारिक पढाइ हुन्छ भने बाँकी समय विद्यार्थीहरूले सिर्जनशील र जीवनोपयोगी सीप सिक्ने गर्छन्।
विद्यालयका अनुसार परम्परागत विद्यालयमा एक वर्ष लाग्ने पाठ्यक्रम अल्फा स्कूलमा २२ देखि ३० घण्टामै पूरा हुन्छ। विद्यार्थीहरूको नतिजा पनि अन्य विद्यालयको तुलनामा उल्लेखनीय रूपमा राम्रो रहेको र राष्ट्रिय स्तरको शीर्ष एकदेखि दुई प्रतिशतभित्र पर्ने गरेको दाबी गरिएको छ।
अल्फा स्कूलको शिक्षण पद्धतिमा निजीकृत पाठ्यक्रम, न्यूनतम ९० प्रतिशत बुझाइको मापदण्ड, गल्तीमा तुरुन्त प्रतिक्रिया र घोकाइभन्दा बुझाइमा जोड दिने प्रणाली अपनाइएको छ। एआईले विद्यार्थीको क्षमता, रुचि र कमजोरी विश्लेषण गरी त्यसअनुसार पाठ्यसामग्री तयार गर्छ, जसले सिकाइलाई रोचक र प्रभावकारी बनाएको विद्यालयको भनाइ छ।
विद्यालयमा औपचारिक पढाइ बाहेकको समयमा विद्यार्थीहरू खेलकुद, कोडिङ, वित्तीय साक्षरता, उद्यमशीलता, सार्वजनिक भाषणकला र टिमवर्कजस्ता सीपमा केन्द्रित हुने गर्छन्। विद्यालय तह पूरा गर्दा प्रत्येक विद्यार्थी आफ्नो लक्ष्य र त्यसमा पुग्ने स्पष्ट मार्गचित्रसहित बाहिर निस्कने गरेको बताइएको छ।
शिक्षा विज्ञहरूका अनुसार अल्फा स्कूलको अवधारणाले नेपालको शिक्षा प्रणाली सुधारका लागि पनि महत्वपूर्ण सन्देश दिएको छ। महँगो पूर्वाधार तुरुन्त सम्भव नभए पनि एआईलाई शिक्षामा क्रमशः समावेश गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।
विशेषज्ञहरूले शिक्षकको भूमिकालाई ‘ज्ञान दिने’ बाट ‘मार्गदर्शक’ मा रूपान्तरण गर्नुपर्ने, एउटै पाठ्यक्रम सबैका लागि लागू गर्ने प्रणाली अन्त्य गर्नुपर्ने, सीपमा आधारित शिक्षा अनिवार्य गर्नुपर्ने र दुर्गम क्षेत्रमा अफलाइन एआई ट्युटरसहितका ट्याब्लेट प्रयोग गर्न सुझाव दिएका छन्।
यद्यपि एआई आधारित शिक्षामा स्क्रिन टाइम व्यवस्थापन, मानवीय संवेदना जोगाइराख्ने र प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्ने चुनौतीहरू पनि रहेका छन्। तर परम्परागत शिक्षा प्रणाली अपेक्षित नतिजा दिन नसकेको अवस्थामा एआईलाई अवसरका रूपमा लिनु पर्नेमा विज्ञहरूको जोड छ।
एआईले शिक्षाको पहुँचलाई लोकतान्त्रिक बनाउँदै लैजाने र नेपालले समयमै यस प्रविधिलाई आत्मसात् गर्न सके बालबालिका विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने अपेक्षा गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्