Skip to content

स्वास्थ्य बीमाको रकम हिनामिना प्रकरणमा लेखा अधिकृतसहित तीन जनालाई २ वर्ष कैद

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । विशेष अदालत काठमाडौँले स्वास्थ्य बीमाको रकम हिनामिना गरेको अभियोगमा तीन जनालाई दुई वर्ष कैद सजाय सुनाएको छ।

शुक्रबार विशेष अदालत काठमाडौँका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत कम्प्युटर अपरेटर तृप्ति शाही, लेखा अधिकृत (अधिकृतस्तर छैटौँ) शंकरप्रसाद सुवेदी र कुमारी बैंकको एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।

अदालतको फैसलाअनुसार प्रतिवादी शंकरप्रसाद सुवेदी र तृप्ति शाहीलाई जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ जरिवाना गरी सोही रकम बराबरको बिगो असुलउपर गर्न आदेश दिइएको छ। त्यस्तै, गोमा सिंजाली मगरलाई ८ लाख ६९६ रुपैयाँ जरिवाना गरी सोहीअनुसारको बिगो रकम असुल गर्न आदेश दिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रदेश अस्पताल, सुर्खेतको सामाजिक सेवा एकाइमा कार्यरत शाहीले स्वास्थ्य बीमाका बिमितहरूको नाम दर्ता गर्ने क्रममा अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम संकलन गरेकी थिइन्। तर, संकलित रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि आयोगले अनुसन्धान सुरु गरेको थियो।

आयोगले गत असार ९ गते प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्