Skip to content

सुरक्षा सुनिश्चित गर्न वीरगन्ज महानगरमा पुन : कर्फ्यु अवधि बढ्यो

कालोपाटी

२ दिन अगाडि

 काठमाडौँ । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा अवस्था अझै सामान्य नभएको भन्दै कर्फ्यु अवधि बेलुका ६ बजेसम्म बढाएको हो।

मंगलबार दिउँसो जारी गरिएको सूचनाअनुसार आज दिउँसो १ बजेसम्म लागू गरिएको कर्फ्युलाई निरन्तरता दिँदै बेलुका ६ बजेसम्म कायम राखिएको सीडीओ भोला दाहालले जानकारी दिनुभयो। प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यु अवधि थपिएको हो।

अघिल्लो दिन सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको थियो। अबको कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायतका कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

जिल्ला प्रशासनले अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। साथै, कर्फ्यु आदेश उल्लङ्घन गर्नेविरुद्ध कडा कदम चालिने चेतावनी समेत दिइएको छ। आवश्यक परे सुरक्षाकर्मीले गोली चलाउने अधिकारसमेत प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ।

कर्फ्यु लागू क्षेत्रको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उत्तरमा गण्डक चोकसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्