Skip to content

निर्वाचन प्रयोजनका लागि दलले १० हजारमा मतदाता नामावली पाउने

कालोपाटी

१ हप्ता अगाडि

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दललाई निश्चित शुल्क तिरेर देशभरका मतदाताको विवरण उपलब्ध गराउने व्यवस्था गरेको छ।

आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरको मतदाता नामावली लिन १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। उक्त विवरण आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

आयोगका अनुसार मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय माध्यमबाट उपलब्ध गराइनेछ। उक्त विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत प्रदान गरिनेछ।

यदि कुनै दललाई एक प्रदेशको मात्र मतदाता विवरण आवश्यक भएमा पाँच हजार रुपैयाँ शुल्क तिरेर लिन सकिने आयोगले जनाएको छ।

निर्देशिकाअनुसार निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी व्यवस्था मिलाउनुपर्नेछ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न सक्नेछन् भने फोटोबाहेकको मतदाता नामावली जोसुकैले पनि हेर्न सक्ने व्यवस्था गरिएको छ। यसबारे मतदाता, राजनीतिक दल तथा उम्मेदवारलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ।

त्यस्तै, कुनै मतदाताले आफ्नो मात्र मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिई उक्त मतदाताको विवरण मात्र समेटिएको मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ।

मतदाता विवरण उपलब्ध गराउँदा जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने नदिइने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार