Skip to content

‘वर्तमान सरकारमा बस्नेले कुनै दलतिर ढल्कने छुट छैन’ : गृहमन्त्री अर्याल

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलतिर ढल्कने छुट नरहेको स्पष्ट पारेका छन्।

शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्तव्य राख्दै मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराउँदै सरकार निष्पक्ष रूपमा अघि बढ्नुपर्ने बताए।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित उक्त सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री अर्यालले वर्तमान सरकारको मुख्य जिम्मेवारी तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको उल्लेख गरे। सरकार निर्वाचन प्रक्रियामा होमिइसकेको भन्दै तोकिएको मितिमै निर्वाचन हुनेमा कुनै शंका नगर्न उनले सबै पक्षलाई आग्रह गरे।

जेनजी जनआन्दोलन सुशासन स्थापनाका लागि भएको बताउँदै मन्त्री अर्यालले सरकार सुशासन कायम गर्न पूर्ण रूपमा कटिबद्ध रहेको बताए। तोकिएको मितिमा निर्वाचन हुन नसके देश गम्भीर संकटतर्फ जान सक्ने चेतावनी दिँदै उनले सरकारले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याए। साथै, सरकारले गरिरहेका कार्यप्रति सहयोग र हौसला प्रदान गरी सरकारको मनोबल बढाउन सबै सरोकारवालालाई आग्रह गरे।

त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन र स्रोतले सम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री बाँनियाले विगतको जस्तो भय र त्रासको वातावरण नभए पनि अविश्वास अझै कायम रहेको उल्लेख गर्दै कृत्रिम बौद्धिकता, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत फैलिन सक्ने भ्रामक समाचारले आसन्न निर्वाचनमा पार्न सक्ने असरप्रति गृह मन्त्रालय र सुरक्षा निकायलाई विशेष सतर्क रहन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार