Skip to content

‘कांग्रेसको शान जोगाएर काम गर्छु’ : सभापति गगन थापा

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विशेष महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले आफूले पाएको जिम्मेवारी सामान्य नभएको उल्लेख गरे। प्राप्त विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्था नआउने गरी काम गर्ने उनले बताए।

उनले भने, “यो जोखिम हामीले उठाउनैपथ्र्यो। मैले मात्र होइन, तल बस्ने साथीहरू र स्टेजमा रहेका धेरै नेताहरूले ठूलो जोखिम उठाउनुभएको छ। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौँ। म तपाईंहरू सबैप्रति आभारी छु।”

सभापति थापाले नेपाली कांग्रेसजस्तो गौरवशाली पार्टीको नेतृत्व सम्हाल्नु ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। “नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्र पनि गर्वले छाती फराकिलो हुन्छ। त्यस्तो महान् पार्टीको नेतृत्व गर्ने जिम्मेवारी सानो होइन,” उनले भने।

उनले पार्टीको शान कायम राख्नुका साथै कांग्रेससँग जोडिएका कार्यकर्ता र समर्थकलाई पार्टीप्रति गर्व गर्ने अवस्था बनाउने प्रतिबद्धता पनि व्यक्त गरे। साथै देशका नागरिकहरूमा ‘नेपाली कांग्रेस छ’ भन्ने भरोसा पुनः स्थापित गर्ने दाबी गरे।

सभापति थापाले नेपाली कांग्रेस फुटेको नभई विधानअनुसार विशेष महाधिवेशनको अभ्यास मात्र भएको स्पष्ट पारे। “कृपया कसैले पनि कांग्रेस फुटेको छ भन्ने कुरा नसोच्नुहोला, नभन्नुहोला। कांग्रेस यही छ। विधानमै विशेष महाधिवेशनको व्यवस्था छ। विधानको अभ्यास गर्दा कांग्रेस कसरी फुट्छ?” उनले प्रश्न गरे।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसलाई एकताबद्ध गर्दै संगठन सुदृढीकरण र जनविश्वास पुनः प्राप्त गर्ने दिशामा काम गर्ने नेतृत्वको प्रतिबद्धता दोहोर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्