Skip to content

केही जिल्लामा निर्वाचन प्रहरीको आवेदन म्याद भोलिसम्म थप

कालोपाटी

३ दिन अगाडि

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नामा अपेक्षित आवेदन नपरेपछि केही जिल्लामा आवेदन दिने म्याद भोलिसम्मका लागि थप गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेकाले दुई दिन म्याद थप गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जनाएका छन्। यसअघि निर्वाचन प्रहरीमा आवेदन दिन हिजोसम्मको समय तोकिएको थियो। हालसम्म झन्डै २ लाख आवेदन परिसकेको छ।

धेरै जिल्लामा मागभन्दा बढी आवेदन परे पनि भर्नासम्बन्धी मापदण्ड पूरा नगरेका कारण धेरै आवेदक छनोटको प्रारम्भिक चरणमै बाहिरिने गरेका छन्। नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ।

निर्वाचन प्रहरीमा आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ, आतंककारी वा विध्वंसात्मक संगठनको सदस्य नभएको र नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ।

शारीरिक मापदण्डअनुसार पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडाइ ३१ देखि ३३ इन्च, ५० किलो तौल हुनुपर्नेछ। महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ किलो तौल र गर्भवती नभएको हुनुपर्ने मापदण्ड छ।

छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम दिई ३० दिनसम्म सुरक्षामा खटाइनेछ। निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी तथा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान, लत्ताकपडा र जवानसरहको रासन भत्ता पाउनेछन्। यसअनुसार ४० दिनको सेवा अवधिका लागि ३४ हजार रुपैयाँ तलब र ४० दिनकै रासन भत्ता उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार