Skip to content

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ

कालोपाटी

२ दिन अगाडि

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुने भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ।

अभियोगपत्र अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा माधव नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति निजी तथा संस्थागत स्वार्थमा प्रयोग गर्न दिएको आरोप लगाइएको छ। नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको तथा २०६६ माघ १८ गते ठाडो आदेशमार्फत जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको अख्तियारको दाबी छ।

पतञ्जलिसँग सम्बन्धित ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको ठहर गर्दै अख्तियारले सो कार्यलाई भ्रष्टाचारजन्य अपराधका रूपमा अभियोग लगाएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार