Skip to content

निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ।

आयोगले सातवटै प्रदेशअन्तर्गतका जिल्लाका मतपत्र नमूना सार्वजनिक गरेको हो। एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि अर्को प्रकारको मतपत्रको नमूना सार्वजनिक गरिएको आयोगले जनाएको छ।

उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको आकार फरक–फरक हुने आयोगले स्पष्ट पारेको छ। उम्मेदवार बढी भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठुलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो हुने आयोगको भनाइ छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौंमा मतपत्रको आकार पनि ठुलो हुने जनाएको छ।

आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन्। ती जिल्लाका वास्तविक मतपत्रको नमूना पनि सार्वजनिक गरिएको छ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटामात्र निर्वाचन क्षेत्र रहेको छ। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। ती सबै निर्वाचन क्षेत्रका वास्तविक मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।

अन्य जिल्लाका वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ। हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ।

त्यसैगरी, आयोगले मतदाता सचेतना कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका निर्वाचन क्षेत्रअनुसार नमूना मतपत्र तयार गरी मतदान केन्द्रसम्म पुर्‍याउने काम पनि अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार