काठमाडौं । आमनिर्वाचनलाई लक्षित गरी नेपालमा नक्कली नेपाली तथा भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत रक्सौल आसपास सक्रिय गिरोहलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो।
पूर्वी चम्पारण प्रहरी र विशेष कार्यबल (एसटिएफ) को संयुक्त टोलीले भारतको सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा सञ्चालनमा रहेको नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना फेला पारेर ध्वस्त पारेको छ।
छापामारीका क्रममा २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ तथा नोट छाप्न प्रयोग गरिने हाइटेक मेसिन बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। साथै नक्कली नोट छाप्न प्रयोग हुने कागज, रसायन र अन्य सामग्रीसमेत जफत गरिएको छ।
घटनामा संलग्न १० जना अभियुक्त पक्राउ परेका छन्, जसमध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बरामद नक्कली नेपाली रुपैयाँ नेपालमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको पाइएको छ।
गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको अवस्थामा छापामारी गरिएको हो। सो क्रममा तीनवटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ। सुरक्षा निकायले गिरोहका अन्य सदस्य तथा मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र बनाएको जनाएको छ।
प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्