Skip to content

निर्वाचन तयारी तीव्र : भारतबाट तेस्रो चरणमा २०० भन्दा बढी गाडी नेपाल आउँदै

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं ।आसन्न निर्वाचनलाई लक्षित गरी भारतबाट थप २२३ थान सवारीसाधन नेपाल ल्याउन लागिएको छ। भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउन लागेको सवारीसाधनको तेस्रो खेप नेपाल भित्रिन लागेको हो।

भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो गाडी नेपाल ल्याइँदै छन्।

यसअघि पहिलो खेपमा ६१ थान गाडी नेपाल ल्याइएका थिए, जसलाई माघ ६ गते भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। यस निर्वाचनका लागि भारत सरकारले साना तथा ठूला गरी कूल ५३८ थान सवारीसाधन नेपाललाई उपलब्ध गराउने जनाएको छ।

निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारीसाधन माग गरेको थियो। प्राप्त सबै गाडी भारतीय दूतावासमार्फत गृह मन्त्रालयलाई उपलब्ध गराइनेछ भने गृह मन्त्रालयले आवश्यकताअनुसार सम्बन्धित निकायलाई वितरण गर्नेछ।

गत भदौ २३ र २४ गते भ्रष्टाचार र सुशासनको मागसहित भएको जेनजी पुस्ताका युवाहरूको प्रदर्शनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी हुँदा भवन तथा सवारीसाधन क्षति भएका थिए। सोही कारण निर्वाचन तयारीका लागि विभिन्न जिल्लाबाट थप गाडीको माग बढ्दै गएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन्।

‘हामी निर्वाचनको तयारीमा छौं, तर गाडीको अभाव देखिएकाले जिल्लाबाट निरन्तर माग आइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारीले बताए।

निर्वाचन प्रयोजनका लागि भारत सरकारको सहयोगस्वरूप प्राप्त सवारीसाधनहरू निर्वाचनपछि नेपाल सरकारले आवश्यकताअनुसार प्रयोग गर्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार