Skip to content

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । लुम्बिनीमा आगामी १६ र १७ वैशाखमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ। लुम्बिनी विकास कोषको बिहीबार बसेको परिषद् बैठकले लुम्बिनीको पर्यटन प्रवर्द्धन र पर्यटक आगमन बढाउने उद्देश्यले सम्मेलन गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा बसेको बैठकले मूल आयोजक समारोह समिति गठन गरेको छ। समिति संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा हुने गरी १० सदस्यीय समिति गठन गरिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि सम्मेलन आयोजनामा ३ करोड रुपैयाँ विनियोजन गरेको छ। राजनीतिक तथा संरचनात्मक परिवर्तनका कारण नोभेम्बरमा आयोजना गर्न नसकिने सम्मेलन अब २५७०औं बुद्ध जयन्तीको अवसर पारेर वैशाख १६–१७ मा गर्ने तयारी गरिएको हो।

डा. लामाले बताएअनुसार, सम्मेलनको उद्देश्य बुद्ध धर्म र दर्शनमार्फत विश्व शान्ति प्रवर्द्धन गर्दै दया, करुणा र विश्व बन्धुत्वको भावना फैलाउनु हो।

विश्वका ६० भन्दा बढी देशका बौद्ध विद्वान, गुरु, विशिष्ट पाहुना तथा विभिन्न क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्व सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ। दुई दिने कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु र बुद्धसँग सम्बन्धित क्षेत्रहरूको सम्पदा, लुम्बिनी क्षेत्रको पर्यावरणीय अवस्था, विश्व बौद्ध सम्पदा, बौद्ध शिक्षा र संस्कृतिका विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।

लुम्बिनी विकास कोषका अनुसार पहिलो र दोस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालको धार्मिक, सांस्कृतिक तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार