Skip to content

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

कालोपाटी

५ घण्टा अगाडि

काठमाण्डौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण र मतदातासँग ‘कसलाई मत दिनुहुन्छ ?’ भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग गरिएकोप्रति जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले आपत्ति जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने यस्ता गतिविधि नगर्न तथा नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम उक्त कार्य आचारसंहिता उल्लङ्घन भएको जनाउँदै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ ।

कार्यालयका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने कानुनी व्यवस्था छ । सो अवधिमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममार्फत प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा घरदैलो कार्यक्रम गर्न सकिने व्यवस्था रहेको छ ।

तर, निर्धारित समयभन्दा अगावै कोणसभा गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने, घरदैलो कार्यक्रम सञ्चालन गरी मतदातालाई प्रभाव पार्ने गतिविधि भइरहेको जानकारी प्राप्त भएकाले त्यस्ता कार्य नगर्न/नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार