Skip to content

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ  । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो प्रतिनिधि सभा चुनावलाई सुरक्षित र त्रुटिरहित सम्पन्न गर्न सबै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिनुभएको छ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित पृतनापति समन्वयात्मक बैठकमा प्रधानमन्त्री कार्कीले विगतका अनुभवको मूल्याङ्कन गरी सुरक्षा संयन्त्रमा सुधार गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो,“यस चुनावलाई सुरक्षित रूपले सम्पन्न गर्न आउँदो चुनावका विविध आयामहरूलाई ध्यानमा राखेर सुरक्षा संवेदनशीलताका आधारमा सबै निकायसँग समन्वय गरी त्रुटिरहित काम गर्नुहोस्।”

प्रधानमन्त्री कार्कीले नेपाली सेनामाथि रहेको जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्न पूर्ण विश्वास व्यक्त गर्दै नागरिकलाई सुरक्षित वातावरणमा मतदान गर्न सक्ने सुनिश्चितता दिन निर्देशन दिनुभयो।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, सेनाका विभाग प्रमुखहरू, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख र पृतनापतिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो क्षेत्रगत जिम्मेवारी, सम्पन्न कार्य र सुझाव प्रस्तुत गरेका थिए।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ कि बैठकमा समसामयिक सुरक्षा विषयमा छलफल गर्दै आगामी निर्वाचनलाई सुरक्षित र अवरोधमुक्त बनाउन रणनीति तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार