Skip to content

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थलमा प्रदर्शन गर्ने तयारी गरिरहेका केही समूह र राजनीतिक दलका विज्ञप्ति आएका कारण प्रशासनले यो कदम उठाएको हो।

स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। अब विमानस्थल हाताभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा जस्ता विरोध कार्यक्रम गर्न पाउने छैनन्।

प्रधान जिल्ला अधिकारी ईश्वरराज पौडेलको आदेश अनुसार, गोल्डेन गेटदेखि विमानस्थल परिसरभित्रका सबै सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायत विमानस्थल हाताभित्रका सम्पूर्ण क्षेत्रमा निषेध लागू हुनेछ। प्रशासनले भनेको छ कि विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भेला हुँदा भीडले तोडफोड, आगजनी र उच्छृङ्खल गतिविधि गराउन सक्ने जोखिम हुन्छ।

तथापि, निषेधाज्ञा जारी नगरिएका अन्य स्थानमा संविधानअनुसार प्रत्येक नागरिकले शान्तिपूर्ण रूपमा विचार व्यक्त गर्ने र भेला हुने स्वतन्त्रता कायम रहने प्रशासनले स्पष्ट पारेको छ।

पूर्वजानकारीका साथ गरिने विरोध कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा क्षति भएमा आयोजकले क्षतिपूर्ति बुझाउनुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार