Skip to content

देशभर २४ घण्टामा विपद्का ७३ घटना : हावाहुरी र चट्याङले ४ जनाको मृत्यु

कालोपाटी

४७ मिनेट अगाडि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना रेकर्ड भएका हुन्।

यी घटनामा परी ४ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन्। मृत्यु हुनेहरूमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन्। प्राधिकरणको बुलेटिनअनुसार यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ र आगलागीका १२ वटा घटना दर्ता भएका छन्।

यी विपद्का कारण देशभर २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। साथै २७ वटा चौपायाको समेत मृत्यु भएको छ। विपद्का घटनाको उद्धार र व्यवस्थापनका लागि देशभर ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो। यो २४ घण्टाको अवधिमा देशका ४३ जिल्ला विपद्बाट प्रभावित भएका छन्।

चालु वर्ष २०८२ को वैशाख १ गतेदेखि चैत ३ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा नेपालमा विपद्को अवस्था भयावह देखिन्छ। यस वर्ष हालसम्म देशभर ६ हजार ९ सय ५१ वटा विपद्का घटना भएका छन्, जसमा परी ४ सय ७५ जनाले ज्यान गुमाइसकेका छन् भने ३८ जना अझै बेपत्ता छन्। विपद्कै कारण १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ, जसमा १०० जनाको मृत्यु भएको छ। त्यसैगरी सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाले ज्यान गुमाएका छन्।

मौसमको अवस्थालाई हेर्दा पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा वर्षा भएको छ। ३ सय ३४ वटा वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ, जसमा सबैभन्दा बढी धनकुटाको मुलघाटमा ३५ मिलिमिटर वर्षा भएको छ। तापक्रमतर्फ रुपन्देहीको भैरहवामा सबैभन्दा बढी गर्मी महसुस गरिएको छ, जहाँको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ।

त्यस्तै मनाङको हुम्देमा सबैभन्दा चिसो रेकर्ड गरिएको छ, जहाँ न्यूनतम तापक्रम माइनस ८.५ डिग्री सेल्सियस मापन गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार