पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई आज ‘मिडिया सोसाइटी अवार्ड–२०७८’ प्रदान गरिएको छ ।

म्याग्दी मिडिया सोसाइटीका पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पर्यटकीयस्थल टोड्केमा आयोजित समारोहमा रु सात हजार ८६५ नगदसहित गौतमलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले उहाँलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक गौतम नागरिक दैनिकलगायत सञ्चारमाध्यमसँग आबद्ध छन् । विसं २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालकहरु आबद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिए । रु दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दस वर्षदेखि काम गरेका एकजना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानियाँ सम्मानित भइसक्नुभएको छ । प्रत्येक वर्ष दस प्रतिशतका दरले पुरस्कारको राशि बढाउने गरिएको छ ।

साधारणसभामा वडा अध्यक्ष शेरपुञ्जा र टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले म्याग्दीका पर्यटकीयस्थलको प्रवद्र्धन, विकास, सुशासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए ।सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

यसैगरी, संस्थामा आबद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गरेको छ । समस्यामा परेका पत्रकारहरुलाई आपत्कालिक कोषको ब्याजबाट नगद सहयोग गरेको छ । अधिवेशनले कमल खत्रीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्थानीय सञ्चारमाध्यमको सबलीकरण र पर्यटन प्रवद्र्धनसम्बन्धी छबँुदे टोड्के घोषणापत्रसमेत जारी गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्