प्रहरीद्वारा ३३ बोरा चिनी बरामद, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रहरीले राजस्व छली ल्याएको ३३ बोरा चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटेका प्रहरी टोलीले राजस्व छली गरी ल्याएको ३३ बोरा चिनी बरामद गरेको हो ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा (आज) बुधबार बिहान सवारी जाँचका क्रममा बा प्र ०३-००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारीका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याएको परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिएका हुन् ।

त्यस्तै, बस र चालको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् । घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बिपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल-९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याएको दश क्वीन्टल चिनी बरामद गरेको थियो ।

प्रहरीले कात्तिक पहिलो हप्ता उक्त राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’ मा अवैध रुपमा चिनी भित्रने गरेको पाएपछि नियमित यातायातका साधन जाँच गर्न थालेको प्रनाउ श्रेष्ठले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्