हराउँदै छन् दूध, दही र महीका लागि उपयोगी काठका ठेकी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका-१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् । उनले धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउँछन् ।

रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्ने गर्छन् ।दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उनले भने, ‘मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दु:ख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे । पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको ठेकी भाँडा बनाउने ठाउ चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम छ । हाम्रो पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुन्थ्यो ।’

धनबहादुरले भनछन्, ‘हामीले बलकै भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग आवश्यक छ तर यो पेसा संरक्षणमा कसैको पनि सहयोग छैन ।’ काठको सामग्री बनाउन दार, पँयले, लौठसल्ला, मौवा, कटहरलगायत रुखको काठ उपयोगी हुने बताइन्छ ।

उनका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ । काममा त दुःख छँदैछ । अझ काठको पनि अभाव छ । गाउँले आफैँले काठ खोजेर ल्याए भने बनाउन सकिन्छ । परम्परागतरूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । परम्परागतरूपमा काठबाट निर्मित कलात्मक तरिकाले कुँदीएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन् ।

यस्तै, पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका ठेकीजस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । त्यसकारण काठबाट बनेका वस्तु बिक्री वितरण हुने गर्दथे तर अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली नगरपालिका-१३ का ओमकार अधिकारीले जानकारी दिएका छन् । उनले भने, ‘पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडाको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठबाट ठेकी निर्माण गरिन्थ्यो तर अहिले गाउँमा काठको अभावमा यो पेसामा लाग्ने व्यक्तिसमेत पलाएन भइसके ।’

ठेकी व्यवसायी विश्वकर्मा भन्छन्, ‘अहिले सामुदायिक वनमा काठ काट्न पाइँदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुख पनि मासिँदै गए । पहिला पहिला काठबाट बनेका ठेकीको माग अत्यधिक हुन्थ्यो । अहिले गाउँघरमा भैँसीगाई पाल्नै छाडे । कसैले पालिहाले भने पनि दूध सिधै डेरीमा बिक्री गर्न थाले । दही जमाउने माटका भाँडा तथा आधुनिक प्रविधि आएका कारण पनि यो पुस्तौँदेखि गर्दै आएको पेसा लोप हुन लागेको हो । पहिला ठेकी पुर्याउन नै गाह्रो हुन्थ्यो । अहिले बनेका ठेकीसमेत बिक्री नभएर घरमा थन्काउन बाध्य हुनुपरेको छ । घरमा सजावटका लागि केहीले किने भने मात्र नत्र ठेकीको व्यापार धेरै कम भइसक्यो ।’

त्यसैगरी, काठबाट बनेको ठेकीमा दूध जमाउँदा राम्रो र मिठो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका भाँडामा जमाएको दही, मही र घ्यूको स्वाद काठको ठेकीमा जमाएको जस्तो नहुने अर्का स्थानीयवासी माइकल चौहानले जनाएका छन् । त्यस्तै, स्थानीयवासी माधव कार्की भनछन्, ‘अहिले बजारमा जताततै प्लास्टिक, स्टिल र सिलाबरका सामान निस्किए तर पनि ती प्लास्टिक, सिलावर र स्टिलबाट बनेका भाँडामा राखेको दूध बिग्रने गरेको छ । काठबाट बनेको ठेकीजस्तो बजारमा पाइने आल्मुनियमका ठेकी हुँदैनन् । त्यतिमात्र होइन यस्ता भाँडामा जमाएको दूधबाट बनेका परिकारसमेत मानव स्वास्थ्यको लागि गुणकारी हुँदैन ।’

विशेषगरी दलित समुदायको विक र सार्की जातिले मात्र अपनाएको यो पेसा सङ्कटमा पर्दै जाँदा उनीहरुको रोजीरोटी पनि खोसिँदै गइरहको छ । सरकारले यस्ता पेसालाई संरक्षण गर्नसके पछिल्लो पुस्ताले पनि ठेकीलगायत काठजन्य वस्तु उत्पादनका बारेमा जानकारी पाउने मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्