हिमाली लेखक सम्मेलन नेपालमा हुने, लेखक टिम टोम्लिन्सनलगायतको सहभागिता रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ‘न्युयोर्क राइटर्स वर्कसप’ले नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । ‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा हिमाली लेखक सम्मेलन गर्ने भएको हो ।

विसं २०८१ जेठ ९-२० गते काठमाडौँ, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने भएका छन् । कवि, अनुवादक तथा लेखक युयुत्सु आरडी शर्माको लेखन सहजीकरणमा हुने ‘हिमालयन राइटर्स रिट्रिट’ मा प्रख्यात अमेरिकी कवि तथा सम्पादक टोनी बार्नस्टोन, एसियाली-अमेरिकी कवि तथा संस्मरण लेखक रविशङ्कर, न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा लेखक टिम टोम्लिन्सनलगायतको सहभागिता रहने  छ ।

यस्तै, सम्मेलन नेपालका क्रान्तिकारी राजनीतिज्ञ तथा प्रथम गद्यकवि गोपालप्रसाद रिमालमा समर्पित भई अन्तरराष्ट्रिय साहित्यिक महोत्सवका रूपमा चलेर नेपाल र दक्षिण एसियाली लेखनमा केन्द्रित हुने नेपाल संस्करणको संयोजक ह्वाइट लोटस बुक सप, कुपन्डोल, ललितपुरका प्रतिनिधि सिर्जना भण्डारीले जानकारी दिएकी छिन् । सो अवसरमा रिमालका कविताहरूको सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशन हुनेछ ।

हिमाली महोत्सव संस्करणका अध्यक्ष शर्माले भनिन्, ‘न्युयोर्क राइटर्स वर्कसप २०२४ संसारभरको साहित्यिक जगत्का लागि बरदान हुने छ । यस प्रकारको कार्यक्रम दक्षिण एसियामै पहिलो हुने छ । यसले बहुसांस्कृतिक साहित्यिक संकथनमा नयाँ आयाम ल्याउने र विश्वभरका सिर्जनात्मक लेखकहरूबिचको सम्बन्धलाई बढावा दिई सिर्जनशीलताको बाढी ल्याउने छ ।’

राइटर्स वर्कसप अन्तरराष्ट्रिय लेखन कार्यक्रम हो । जुन यसअघि ग्रीसको एथेन्स, इटालीको सर्दिनिया, न्युयोर्क सहर क्षेत्रमा आयोजना भइसकेका छन् भने प्रतिष्ठित लेखकहरूले प्रशिक्षण दिने गर्छन् । वर्कसपका निर्देशक तथा न्युयोर्क विश्वविद्यालयका प्रा टोम्लिन्सनले नेपाल सम्मेलन सहभागीहरूका लागि नौलो अनुभवयुक्त र निकै वैभवशाली हुने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी कवि तथा ह्विटियर कलेज, क्यालिफोर्नियाका अङ्ग्रेजी, वातावरण र संस्कृति अध्ययनका प्राध्यापक बार्नस्टोन यसलाई स्वप्नमय परियोजनाका रूपमा लिँदै नेपालमा हुने अद्भुत अन्तरराष्ट्रिय सम्मेलनको आफूले प्रतीक्षा गरिरहेको बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्