विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्छ: सभामुख देवराज घिमिरे

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढीरहेका भन्दै यसको निगरानी हुनुपर्ने जानकारी दिएका छन् । उनले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने जनाएका छन् ।

यस्तै, उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा संसदले प्रभावकारी निगरानी बढाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘विदेशी सहयोग हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो ? समय भन्दा ढिलो किन भयो ? समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन ? यी कुराहरुको बारेमा संसदीय समितिहरु प्रभावकारी ढंगबाट यसको मनिटरिङ गर्ने भूमिकामा रहन पुगे भने उनीहरुमार्फत जनताको बीचमा ती कुराहरु पुग्न सक्छन् । त्यसको जानकारी भइसकेपछि मात्रै त्यसको सही सदुपयोग हुन्छ ।’

सभामुख घिमिरेले भने, ‘एयरपोर्टहरु बनाउने बारेमा हामीले सफलता पाएका छौँ । तर, त्यसलाई सञ्चालन गर्नेकुरामा हाम्रो ध्यान पुगेको छैन ।’  उनले विमानस्थलहरु बनाउनेकुरामा सफलता हात लागेपनि त्यसको सञ्चानबारे कुनै ध्यान नपुगेको जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्