बनेपामा ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’, ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत नि:शुल्क हालिदिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बनेपामा ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ हुने भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत नि:शुल्क हालिदिने भएको हो ।

आवश्यकता पहिचान गरिएका उक्त उमेर समूहका स्थानीय नागरिकको नि:शुल्क दाँत राख्न लागिएको नगरले जनाएको छ । नगरले दाँत नभएका नागरिकको पहिचानका लागि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्न कार्यतालिका सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाँईले बताएका छन् । उनका अनुसार समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनौट भएका सबैलाई नि:शुल्क रुपमा दाँत राखिदिने योजना बनाएको हो ।

यस्तै, शिविरबाट लागत अनुमान गरी सोही अनुसार बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाएको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले भने, ‘ज्येष्ठ नागरिकको सम्मानका लागि उक्त प्रकारको कार्यक्रम गर्न लागेका हौँ । यो कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुशी देखिने अपेक्षागरेका छौँ ।’

यसैबीच, बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार ३ सय ८२ विद्यार्थीको नि:शुल्क आँखा परीक्षण अभियान सञ्चालन भइरहेको छ । वडा नं ६ स्थित भक्तेश्वर माविबाट विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको हो । अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको दृश्य प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरले जनाएको छ ।

त्यस्तै, प्रारम्भिक सूचनाका आधारमा आँखाको दृश्य १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको पाएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराउने छ । शाक्यले भने, ‘स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान सुरु गरेका हौँ ।’

नगरका बालबालिका, महिला र ज्येष्ठ नागरिकको अलावा नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभूत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधी नि:शुल्क उपलब्ध गराएको छ । साथै, बालबालिकामा थप सङ्क्रमण वा समस्या देखिएमा अस्पताल पुर्याई नि:शुल्क सेवा उपलब्ध गराउने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्