काठमाण्डौ । दशैँमा कानुनअनुसार चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन् ।
उजुरीपछि विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र अनलाइन पोर्टलमार्फत ६ सयभन्दा बढी उजुरी प्राप्त भएका थिए ।
उजुरीमाथि आवश्यक कारबाही अघि बढाइएको विभागले जनाएको छ । श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ । श्रमिकले कुनै विशेष चाडपर्वका लागि खर्च माग गरेको अवस्थामा त्यही चाडपर्वमा र माग नगरेको अवस्थामा दशैँमा यस्तो खर्च उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ ।
एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिका आधारमा अनुपातिक रूपमा चाडपर्व खर्च दिनुपर्ने व्यवस्था छ । तर, कानुनी प्रावधान हुँदाहुँदै पनि चाडपर्व खर्च नपाएको भन्दै श्रमिकले उजुरी दिएका हुन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेका अनुसार विभागले प्राप्त उजुरीमाथि आवश्यक कारबाही अघि बढाएको छ ।
विभागले असोज २३ गते नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सलाई पत्र पठाउँदै आबद्ध रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन र श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
यस्तै, असोज २६ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पत्राचार गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको चाडपर्व खर्च सुनिश्चित गर्न निर्देशन दिइएको थियो ।
विभागको निर्देशनपछि श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउने क्रम शुरु भएको जनाइएको छ । औपचारिक रूपमा प्राप्त उजुरीका अतिरिक्त सामाजिक सञ्जालमार्फत आएका गुनासाका आधारमा पनि सम्बन्धित रोजगारदातासँग सम्पर्क गरी समस्या समाधानको पहल भइरहेको विभागले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्