नगर क्षेत्रका सडक डुबानमा, हिलो सडकमा हिँडन बाध्य नगरवासी

Ad
  • कालोपाटी सम्बाददाता

राजविराज । ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।

राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउन प्लानिङ सहरका रुपमा रहेका राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्सामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिएको थियो । विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिका विगत दुई-तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलमग्न छन् । नगर प्रवेश गर्ने रुपनी सडक, कञ्चनपुर सडक, छिन्नमस्ता सखडा जाने सडक, हनुमाननगर सडक, सिरहा सडकलगायत अधिकांश भित्री सडकका विभिन्न ठाउँमा सानो-सानो खाल्डो भएको ठाउँमा पानी जमेका छन् । सडकमा रहेका त्यस्ता खाल्डाखुल्डीले गर्दा सडक हुँदै बग्ने पानीले पनि साना-ठूला सवारी साधान मात्र होइन, पैदल हिँड्ने मानिसलाई समेत सकस भएको छ ।

पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेर सवारी साधन गुड्न निकै समस्या हुने गरेको गाडी चालक बताउँछन् । मुख्य बजार क्षेत्रकै सडक पनि जीर्ण भएका कारण दर्जनौँ खाल्डा रहेका छन् । लगातारको वर्षाले नगरका सबै सडकमा पानी जमेको छ भने सडक हिलाम्मेसमेत बनेका कारण पैदल आवतजावत गर्दा हातमा चप्पल तथा जुत्ता बोक्नुपर्ने बाध्यता रहेको पैदल यात्रीले गुनासो गरेका छन् ।

राजविराजको पानीट्याङ्की सडकदेखि राममन्दिरसम्म समान्य वर्षामा पनि पूरै सडक हिलाम्मे हुने गरेका छन् । फलस्वरुप सवारी साधन र सर्वसाधारण मानिसलाई हिडनसमेत सास्ती भग्नुपर्ने बाध्यता रहेको राजविराजका श्रवण दासले बताउनुभयो । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा समेत निकै समस्या हुने गरेको पाइएको छ । नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेको बताइएको छ ।

जथाभावी फालिएको फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिँदा रोग समेत फैलिन सक्ने सम्भावना बढेको राजविराज नगरपालिका-३ का बिन्दु चौधरीले बताउनुभयो । नगरपालिकाको विकास कार्य कछुवा गतिमा भइरहेको हुँदा अहिले फोहरका कारण नालाहरु समेत पुरिएको अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ ।

शहर अव्यवस्थित हुदा सुख्खायाममा धुलो र वर्षायाममा पानी र हिलाम्मे हुने गरेका कारण नगरवासीलाई सास्ती व्यहोर्नु परेको छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै चुप लागेर बस्दा नगरवासी सास्ती खेप्न बाध्य छन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्