गुल्मीमा अक्सिजन उत्पादन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

गुल्मी । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो ।

रेसुङ्गा नगरपालिका–८ का ८४ वर्षीया रुद्रबहादुर भुजेलले महासङ्घद्वारा सुरुभएको सो अभियानमा रु १० हजार प्रदान गर्नुभएको थियो । “अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर सानो सहयोग गरेको हुँ ।” उनले भने , “अक्सिजन उत्पादन नै सुरु हुँदा खुसी लागेको छ ।”

गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो । पत्रकार महासंघका शाखा अध्यक्ष टोपलाल अर्यालले अक्सिजन उत्पादन सुरु हुनु आफुहरुको लागि सबैभन्दा खुसिको क्षण भएको बताए ।

सङ्घीय सरकारले प्लान्टको लागि रु एक करोड विनियोजन गरेको थियो । रु एक करोड ३१ लाखमा प्लान्ट निर्माण सम्पन्न भएको थियो । अस्पतालका प्रमुख डा उत्तम पच्याले अक्सिजन प्लान्टले आफूहरुलाई उपचारमा धेरै सहजाता मिलेको बताए । उत्पादन सुरु भएसँगै अब बाहिरबाट अक्सिजन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ ।

प्लान्टबाट २४ घण्टामा ४० ठूला सिलिण्डर भर्न सकिन्छ । भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पु¥याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् । “ढुक्कसँग बिरामीको उपचार गर्न पाएका छौँ, अक्सिजन सकिने कुनै डर छैन ।” डा पच्याले भने , “हामीलाई आवश्यक अक्सिजन यही उत्पादन हुँदा उपचारमा सहजता मिलेको छ ।” –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्