गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार दिने निर्णय, औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका बिरामीलाई मासिक रु पाँच हजार दिने निर्णय गरेको छ । बिरामीलाई औषधोपचारमा सहयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गम्भीर प्रकृतिका प्रत्येक बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराइने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार तत्काल गम्भीर प्रकृतिका बिरामीको विवरण सङ्कलन सुरु गरिनेछ ।

गाउँपालिकाभित्रका मिर्गौला प्रत्यारोपण गराएका, डायलायसिस गराइरहेका मिर्गौला रोगी, विभिन्न क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचारमा सहयोगवापत उक्त रकम दिइने भएको हो । “यसका लागि गाउँपालिकाले सार्वजनिक अपिल गर्दै औषधोपचार खर्च प्राप्त गर्ने बिरामीको आवश्यक विवरण लिने कार्य सुरु गर्दैछौँ”, लामाले भने ।

गाउँपालिकाबाट औषधोपचार खर्च प्राप्त गर्न व्यक्तिको अस्पतालले प्रमाणित गरेको गम्भीर प्रकृतिका रोग खुल्ने कागजात अनुसूची १ अनुसार, औषधोपचार खर्च पाऊ भन्ने व्यहोरोका निवेदन अनुसूची २ अनुसार, बिरामीको नागरिकताको प्रतिलिपि नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईप्रति फोटोसहित सम्र्पक गर्न आह्वान गरिएको छ ।

“औषधोपचार नपाई कोही पनि पीडामा बस्नु नपरोस् भन्ने उद्देश्यले तत्काल आफ्नो क्षेत्रका गम्भीर प्रकृतिका बिरामीलाई सङ्घीय सरकारको निर्णयबमोजिम नै उक्त खर्च दिने तयारी गरेका हौँ”, अध्यक्ष लामाले भने । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्