Skip to content

सडक मर्मतमा बजेट अभाव र तहगत समन्वयको कमी मुख्य समस्या : मन्त्री घिसिङ

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेटको अभाव र संघीय, प्रदेश तथा स्थानीय तहबीचको समन्वयको कमीले समस्या उत्पन्न भइरहेको बताएका छन् ।

मंगलबार सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले राजस्वका रूपमा संकलन गरेको सम्पूर्ण रकम सडक बोर्डले नियमित कार्यक्रमका लागि प्रयोग गर्न नपाउँदा धेरै सडकको मर्मत हुन नसकेको बताए ।

उनका अनुसार मुख्य राजमार्ग तथा सहायक सडकहरूको मर्मत–सम्भार सरकारको दायित्व भए पनि सीमित स्रोतका कारण सबै क्षेत्रमा अपेक्षित काम हुन सकेको छैन । संघीय संरचनामा अधिकारको स्पष्ट विभाजन नहुँदा जनतामा समेत भ्रम सिर्जना भएको उनको भनाइ छ ।

“स्थानीय तहले गर्नुपर्ने साना कल्भर्टदेखि सडकसम्मका माग संघीय सरकारसम्म आउने गरेका छन्,” उनले भने, “संघ, प्रदेश र स्थानीय तहबीचको कार्यक्षेत्र अझै स्पष्ट रूपमा बुझिनसकेको देखिन्छ।”

मन्त्री घिसिङले लामो समयसम्म काम नगर्ने निर्माण व्यवसायीका ठेक्का तोड्नु सरकारको बाध्यता भएको स्पष्ट पार्दै सबै व्यवसायीलाई एउटै तराजुमा राखेर दोषारोपण गर्न नहुने बताए । अत्यन्तै कम मूल्यमा ठेक्का लिने तर समयमै काम नगर्ने प्रवृत्तिका कारण जनताले सास्ती भोग्नुपरेको उनको भनाइ थियो ।

“वर्षौँसम्म काम नगरेका ठेक्काहरू तोड्न बाध्य भएका छौँ,” उनले भने, “जनतालाई दुःख दिने र काम नगर्ने अवस्थालाई व्यवस्थापन गर्न सरकार कठोर निर्णयमा जानुपरेको हो।”

सबै निर्माण व्यवसायी गलत नभएको उल्लेख गर्दै उनले समयमै गुणस्तरीय काम गर्ने व्यवसायीहरूलाई निरन्तर प्रोत्साहन गरिँदै आएको बताए । साथै, विकास निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै क्यापासिटी बिल्डिङ र नीतिगत सुधारमा सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्