Skip to content

प्रकाश सपुतको राजनीतिक डेब्यू :अब समय, ऊर्जा र अनुभव देशका लागि समर्पित गर्ने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि अब आफ्नो समय, ऊर्जा र अनुभव देशको लागि समर्पण गर्ने बताएका छन्।

सपुतले भने, “अबको मेरो जोडबल देशलाई धेरै समय दिने भन्नेमा हुनेछ। राजनीतिमा सानोतिनो भूमिका पाइयो भने देशकै लागि आफ्नो ऊर्जा समर्पण गर्ने मेरो सोच हो।”

कलाकारितामा अब नयाँ सपना नभएको र व्यक्तिगत लाभका लागि काम नगर्ने बताउँदै सपुतले राजनीतिमार्फत देशका लागि योगदान दिन चाहेको बताए। उनले भने, “कलाकारितामा लाग्छु भने अर्को हिट हो, नाम चाहिँदैन। मेरो सपना पुरा भएको छ। अब देशका लागि केही योगदान दिनुछ।”

राजनीतिक डेब्यूबारे उनले वैकल्पिक शक्तिलाई जनतामाझ पुर्‍याउने प्राथमिकता रहेको बताए। “वैकल्पिक शक्तिलाई समर्थन गर्नुपर्छ, उनीहरूलाई अघि सार्नुपर्छ भन्ने पहिलो सोच हो। सुरु देखिनै औपचारिक रूपमा सपोर्ट गर्ने सोच राखेको थिएँ।”

सपुतले कलाकारिता र राजनीतिलाई जनतासँग जोडिने पेशा भएको भन्दै भने, “विगत पाँच–छ वर्षमा मेरो पेशा कलाकारिता हो। दुवै जनतासँग जोडिएका छन्। सिर्जनशील अभ्यास भने अझै बाँकी छ।”

उनले आगामी प्रतिनिधि सभाको चुनावमा प्रचार–प्रसारमा सक्रिय रहने योजना बनाएका छन्। “अहिलको प्राथमिकता राजनीतिक भूमिका र नयाँ वैकल्पिक शक्तिलाई जनतामाझ पुर्‍याउनेतर्फ ध्यान केन्द्रित हुनेछ।”

कामको कुरा गर्दा, सपुत अभिनित फिल्म ‘मिरमिरे’ १ बैशाखदेखि प्रदर्शन तयारीमा छ भने ‘परालको आगो’ पनि बैशाखमा रिलिज हुनेछ। फिल्म रिलिजपछि उनले नयाँ सांगीतिक सिर्जना ल्याउने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्