Skip to content

मिथिलामा तिलासक्रायतको रौनक, थारू बस्तीमा माघीको चहलपहल

कालोपाटी

१ हप्ता अगाडि

काठमाण्डौ । मिथिलामा माघेसङ्क्रान्तिलाई ‘तिलासक्रायत’ पर्वका रूपमा मनाउने चलन रहेको छ । पर्व नजिकिँदै जाँदा मिथिला क्षेत्रका बजार तथा बस्तीमा चहलपहल बढ्दै गएको छ । पछिल्ला केही दिनयता दिउँसो हुस्सु फाटेर घाम लाग्न थालेपछि सर्वसाधारणलाई पर्वको तयारीमा सहजता मिलेको छ ।

साप्ताहिक हटियामा पर्वका लागि आवश्यक खाद्य सामग्रीको किनमेल बढेको छ । किसानहरू सखरखण्ड, तरुल तथा माटोमुनि फल्ने मधेसको स्थानीय फल ‘सुथुनी’ खन्ने र बजार पुर्‍याउने काममा व्यस्त देखिन्छन् । निरन्तरको कुहिरो कम हुँदै गएपछि खेतीपाती र तयारीका काममा राहत मिलेको स्थानीयले बताएका छन् ।

आउँदो बिहीबार मनाइने तिलासक्रायतलाई मिथिलावासीले खाने–पिउने रमाइलो पर्वका रूपमा लिने गर्छन् । यस अवसरमा तील, चिउरा, भुजा र जुनेलो भुटेर सक्खरको खुँदोमा मिसाई लड्डु बनाएर खाने–खुवाउने चलन छ । पर्वका दिन मासको दाल र चामलको खिचडीमा घिउ हालेर खाने मैथिल परम्परा रहिआएको छ ।

यसैबीच, पश्चिम तराईका थारू समुदायका बस्तीमा माघी पर्वको तयारी तीव्र रूपमा अघि बढेको छ । थारू समुदायको प्रमुख पर्व माघीका लागि पुरुषहरू मासुको जोहोमा व्यस्त छन् भने महिलाहरू दुना–टपरी बनाउनमा लागिरहेका छन् ।

माघीको तयारीअन्तर्गत अनडी धानको चामल, पीठो लगायत खाद्यान्न संकलन, दुनाटपरी गाँस्ने, दाउरा सङ्कलन, तोरीको तेल पेल्ने, घर लिपपोत र आँगन सरसफाइका काम भइरहेका छन् । माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी र गँगटो लगायतका परिकार खाने चलन छ ।

यस पर्वमा थारू समुदायका मौलिक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । माघीलाई लक्षित गर्दै विभिन्न स्थानमा मेला तथा महोत्सव आयोजना गर्ने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार