काठमाडौँ । प्रहरी र बीमा कम्पनीका कर्मचारीको मिलेमतोमा नक्कली दुर्घटना देखाएर ८१ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा ठगी भएको खुलेको छ। नक्कली प्रहरी प्रतिवेदन, सिफारिस पत्र र किर्ते कागजात प्रयोग गरी बीमा दाबी गरिएको प्रहरी अनुसन्धानबाट सार्वजनिक भएको हो।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले पर्सा घर भई काठमाडौँको काँडाघारी बस्ने ४४ वर्षीय हरि बुढाथोकीसहित ३१ जनालाई प्रतिवादी बनाएर ‘लिखित सम्बन्धी कसुर’ (किर्ते) मा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ। जिल्ला अदालतले मुख्य अभियुक्त बुढाथोकीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ भने अन्य ३० जना हालसम्म फरार छन्।
प्रहरीका अनुसार बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक श्याम खनालको नाममा किर्ते हस्ताक्षर र प्रहरीको लेटरप्याड प्रयोग गरी २९ वटा नक्कली दुर्घटना सिफारिस पत्र तयार पारेका थिए। ती कागजात प्रयोग गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा रकम असुल्ने योजना बनाइएको थियो।
अनुसन्धानमा बुढाथोकीले नेपाल माइक्रो इन्स्योरेन्सका कर्मचारी विकेश कुँवर र प्रहरी हवल्दार ध्रुव शाहीसँग मिलेमतो गरी प्रति दाबी ३ लाख रुपैयाँका दरले २७ वटा दाबीमार्फत ८१ लाख रुपैयाँ ठगी गर्ने योजना बनाएको देखिएको छ।
गत २०८२ साल भदौ ८ गते प्रहरी निरीक्षकको किर्ते हस्ताक्षर भएको सिफारिस पत्र फेला परेपछि अनुसन्धान सुरु भएको थियो। सोही क्रममा २०८२ असोज १ गते जडीबुटी क्षेत्रबाट बुढाथोकी पक्राउ परेका थिए। खानतलासीका क्रममा उनको साथबाट प्रहरीको चलानी नम्बर उल्लेख भएका नक्कली सिफारिस पत्र, सम्झौताका कागजात र अन्य प्रमाण बरामद गरिएको प्रहरीले जनाएको छ।
फरार अभियुक्तमा प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ध्रुव शाही, सवारी साधनका धनी तथा चालकहरू र बीमा कम्पनीका कर्मचारीसमेत छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ अनुसार प्रतिवादीहरूविरुद्ध ८१ लाख रुपैयाँ बिगो कायम गरी असुल उपरको मागसहित ७ वर्षसम्म कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। साथै बीमा कम्पनीलाई भएको क्षतिपूर्तिको दाबी पनि गरिएको छ।
प्रहरीले बरामद गरेका २९ थान नक्कली सिफारिस पत्र, मुचुल्का र प्रतिवादीहरूको बयानलाई मुख्य प्रमाणका रूपमा अदालतमा पेस गरेको छ। यो प्रकरणले बीमा क्षेत्रमा हुने संगठित ठगी र सरकारी कागजातको गम्भीर दुरुपयोग भएको देखाएको प्रहरीको निष्कर्ष छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्