रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील’ सूचीमा राखी विशेष सुरक्षा योजना लागू गरेको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका निर्वाचनका क्रममा भएका घटना तथा सुरक्षा चुनौतीको मूल्यांकन गर्दै मतदानस्थलको वर्गीकरण गरिएको हो। उनका अनुसार १५२ मतदानस्थल अतिसंवेदनशील, १०० मतदानस्थल संवेदनशील र बाँकी २५ मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले अतिसंवेदनशील मतदानस्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, नियमित गस्ती, निगरानी कडा पारिनुका साथै सुरक्षा निकायबीच समन्वय बढाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार यसपटक रौतहटमा कुल ५४१ मतदान केन्द्र कायम गरिएको छ। निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं. १ मा ६७, क्षेत्र नं. २ मा ७३, क्षेत्र नं. ३ मा ७७ र क्षेत्र नं. ४ मा ६१ मतदानस्थल रहेका छन्। अघिल्लो निर्वाचनमा २७६ मतदानस्थल रहेकामा यस वर्ष गरुडा नगरपालिका–६ मा एक नयाँ मतदानस्थल थप भई कुल संख्या २७७ पुगेको उनले बताए।
यस वर्ष रौतहटमा मतदाताको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। २०७९ सालको निर्वाचनमा ४ लाख १५ हजार ४५५ मतदाता रहेकामा यसपटक २१ हजार १५६ जना नयाँ मतदाता थपिएसँगै कुल मतदाता संख्या ४ लाख ३६ हजार ६११ पुगेको छ।
२ गाउँपालिका र १६ नगरपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा चुनावी सरगर्मी बढेसँगै सुरक्षा निकायले निगरानी र गस्तीलाई थप तीव्र बनाएको छ। रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्