Skip to content

हिमपातले डोल्पा आउने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

कालोपाटी

४ दिन अगाडि

 काठमाडौं । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व–बागलुङ खण्डमा दर्जनौँ सवारी साधन र यात्रुहरू रोकिएका हुन्।

उक्त सडकखण्डमा परेको भारी हिमपातका कारण बस तथा अन्य सवारी साधन अगाडि बढ्न नसक्दा यात्रुहरू घण्टौँदेखि बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका मुकुन्द पौडेलले जानकारी दिए। उनका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई समस्या भइरहेको छ भने केहीको स्वास्थ्यमा समेत असर देखिन थालेको छ।

फोनमार्फत जानकारी दिँदै पौडेलले भने, “हामी दुईवटा साना पसलमा आगो तापेर बसेका छौँ। तर एक जना अशक्त नागरिक भने गाडीमै छन्, खानपिनको कुनै व्यवस्था छैन। अवस्था निकै नाजुक छ।”

हिउँमा फसेको लामो समय बितिसक्दा पनि उद्धारका लागि सम्बन्धित निकायबाट पहल नभएको भन्दै यात्रुहरूले गुनासो गरेका छन्। उनीहरूले तत्काल उद्धार, खाना, न्यानो कपडा तथा स्वास्थ्य सहयोगको माग गरेका छन्। हिउँमा फसेका अधिकांश यात्रु डोल्पाका रहेको बताइएको छ।

रुकुम पूर्वबाट अघि बढेका यात्रु बागलुङ खण्डमा फसे

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार रुकुम पूर्व क्षेत्रमा अलपत्र परेका यात्रुहरूलाई बुधबार नै उद्धार गरी बागलुङतर्फ पठाइएको थियो।

उनले भनिन्, “रुकुम पूर्वमा अहिले यात्रु अलपत्र परेका छैनन्। मेरो नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भूमे गाउँपालिकाको समन्वयमा डोजर प्रयोग गरी हिउँ पन्छाएर उद्धार गरेका थियौँ।”

उनका अनुसार सरकारी सवारी साधनमार्फत यात्रुहरूलाई रुकुम पूर्वको सिमाना कटाइएको हो। त्यसपछि अघि बढेका यात्रुहरू बागलुङ खण्डमा गएर पुनः रोकिएका थिए।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले हिउँ धेरै नपरे पनि बाटो चिप्लो भएका कारण केही सवारी साधन रोकिएको बताए। उनले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिँदै भने, “हिजो निरन्तर हिमपातका कारण बाटो खुलाउन सकिएन। आज बिहान पनि हल्का हिउँ परेकाले चिप्लो भएको छ, तर आजै बाटो पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार