Skip to content

शहीदलाई श्रद्धाञ्जली दिँदै बालेनले भने–पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

कालोपाटी

८ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८५ वर्षको अवधिमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन्।

शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बालेनले राणाशासनविरुद्ध संघर्ष गरेका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको बलिदान स्मरण गरेका हुन्। उनले तत्कालीन राज्यले ती शहीदहरूको क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भए पनि राज्य अझै जनताको हुन नसकेको उल्लेख गरेका छन्।

‘राणाशासन अन्त्य भयो, तर राज्य जनताको बन्न सकेन,’ उनले भनेका छन्, ‘त्यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपर्‍यो। ८५ वर्षमा व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन।’

पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको बालेनको भनाइ छ। उनले भदौमा भएको जेन–जी आन्दोलनको स्मरण गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन्।

बालेनले अहिले आफूहरू शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेको दाबी गर्दै लामो समयदेखि जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने दायित्व आफूहरूमाथि रहेको बताएका छन्। साथै, राज्यका निकायमा बढ्दो दलीयकरण अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनु आवश्यक रहेको उनले बताएका छन्।

‘यी शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,’ उनले भनेका छन्, ‘अब समय आएको छ—शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने, सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश बनाउने।’

सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूको स्मरण गर्दै उनले फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामना समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार