Skip to content

कुहिरोभित्रको जीवन : नारायणी नदीमा शीतकालीन चराचुरुङ्गी र वन्यजन्तु (सात तस्बिर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । नारायणी नदी क्षेत्रमा जाडो यामसँगै देखिने प्राकृतिक दृश्य अत्यन्त मनमोहक हुन्छ। चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मैदानहरू शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुहरूको गतिविधिले जीवन्त बन्छ । हरेक वर्ष उत्तरी एशिया, साइबेरिया, मध्य एशिया र तिब्बती उच्चभूमिबाट हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आउने आप्रवासी चराहरूका लागि नारायणी नदी एक महत्वपूर्ण आश्रयस्थल हो।

यस क्षेत्रमा चखेवा (Ruddy Shelduck), खोया हाँस  (Bar-headed Goose), रणमत्त महाचील (Eastern Imperial Eagle), लगु राजपुत्रिका (Little Ringed Plover) जस्ता प्रमुख आप्रवासी चराहरू देख्न सकिन्छ। साथै मणितुण्डक हाँस (Goosander) जस्ता जलचर र आसपासका वन क्षेत्रमा मयूर  (Peacock) को उपस्थितिले पनि यहाँको जैविक विविधतालाई झनै समृद्ध बनाएको छ। यी चराहरू उत्तरी क्षेत्रहरूमा अत्यधिक चिसो, हिउँ र आहारको अभाव भएपछि तातो मौसम, सुरक्षित बासस्थान र प्रशस्त खानाको खोजीमा नेपालतर्फ आउने गर्दछन्। नारायणी जस्ता नदी, सिमसार र बगर क्षेत्रहरू उनीहरूका लागि जाडो बिताउने उपयुक्त स्थान हुन्।

यी सबै प्रजातिहरूले यस क्षेत्रको पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। शीतकालीन आप्रवासी चराहरू नेपालका सिमसार क्षेत्रहरूको स्वास्थ्य अवस्था र वातावरणीय सन्तुलनका महत्वपूर्ण सूचक हुन्। तर सिमसार क्षेत्रको संकुचन, नदी प्रदूषण, अवैध सिकार र बढ्दो मानवीय दबाबका कारण यी चराहरूको बासस्थान जोखिममा पर्दै गएको छ। त्यसैले नारायणी नदी र यससँग जोडिएका सिमसार क्षेत्रहरूको संरक्षण अत्यन्त आवश्यक छ।

यी सुन्दर चराहरू र वन्यजन्तुको संरक्षण गर्नु भनेको केवल जैविक विविधताको रक्षा मात्र होइन, प्राकृतिक सम्पदा, पर्यटन र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्नु पनि हो। नारायणी नदीमा हिउँदका बिहानहरुमा देखिने यी दृश्यहरूले प्रकृतिको सौन्दर्यसँगै संरक्षणको गहिरो सन्देश पनि बोकेका छ । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार