Skip to content

नवयुवा आन्दोलनपछि बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदै

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । नवयुवा आन्दोलनमार्फत लोकतन्त्र पुनर्स्थापनापछि बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदैछ। झन्डै साढे १७ करोड जनसंख्या रहेको देशमा हुन लागेको यो पहिलो आमचुनावलाई राजनीतिक स्थायित्वका लागि निर्णायक रूपमा हेरिएको छ।

मतदान बिहान साढे ७ बजेदेखि सुरु भएको हो। मतगणना आजै बेलुकादेखि सुरु हुनेछ भने प्रारम्भिक नतिजा मध्यराततिर सार्वजनिक हुन सक्ने निर्वाचन आयोगले जनाएको छ। अन्तिम नतिजा भोलि बिहानसम्म आउने अपेक्षा गरिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

यसपटक ३ सय सिटका लागि २ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। झन्डै ५० राजनीतिक दल सहभागी रहेको चुनावमा एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको छ। करिब १२ करोड ८० लाख मतदाता दर्ता भएका छन्, जसमध्ये ४९ प्रतिशत महिला छन्। तर उम्मेदवारमध्ये महिला संख्या केवल ८३ मात्र रहेको छ।

मुख्य प्रतिस्पर्धा पूर्व सहकर्मी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच हुने अपेक्षा गरिएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी भने प्रतिबन्धित अवस्थामा छ।

चुनावले बंगलादेशको क्षेत्रीय कूटनीतिमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ। विशेषगरी भारतसँगको सम्बन्ध कमजोर बन्दै जाँदा चीनको प्रभाव बढ्न सक्ने आँकलन गरिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन १ लाखभन्दा बढी सेना र झन्डै २ लाख प्रहरी परिचालन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार