Skip to content

राजनीतिको नयाँ जात्रा: वातावरण खोज्ने ‘ओली’ देखि ‘बेकुफ’ खोज्ने ‘झाँक्री’ सम्म

कालोपाटी

८ घण्टा अगाडि

फागुन २१ को निर्वाचन नजिकिंदै गर्दा नेपाली राजनीतिको रङ्गमञ्चमा अचेल एउटा यस्तो विचित्र प्रहसन मञ्चन भइरहेको छ, जहाँ मुख्य पात्रहरू स्क्रिप्ट बिनै स्टेजमा उत्रिएका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरूका अभिव्यक्ति सुन्दा लाग्छ— उनीहरू जनतालाई नीति र कार्यक्रम सुनाउन होइन, बरु कसले बढी ‘ह्युमर’ पस्कन सक्छ भन्ने प्रतिस्पर्धामा उत्रिएका छन्। झापाको भद्रपुरदेखि रुकुमको चुनवाङसम्म र काठमाडौँका सामाजिक सञ्जालदेखि जनकपुरको सभासम्म अहिले एउटै खालको ‘भाइरस’ सल्किएको छ, जसलाई हामी ‘चुनावी छटपटी’ भन्न सक्छौँ।

ओलीको ‘मौसम पूर्वानुमान’: कता हरायो चुनावको वातावरण ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अचेल ‘राजनीतिक मौसमविद्’ भन्दा फरक नपर्ला। आइतबार झापाको भद्रपुर विमानस्थल ओर्लिनेबित्तिकै उनले दराजमा हराएको मोजा खोजेझैँ ‘चुनावको वातावरण’ खोज्न थाले। अचम्मको कुरा त के छ भने, सत्ता समीकरणको मुख्य साँचो आफ्नै हातमा हुँदाहुँदै पनि ओलीजीलाई चुनावको वातावरण कस्तो छ भन्ने थाहा पाउन सरकारकै मुख ताक्नु परिरहेको छ। उनले सञ्चारकर्मीसँग भने, ‘चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि।’ उनको यो वाक्यमा एउटा गहिरो ‘सस्पेन्स’ लुकेको छ।

ओलीजीले वातावरण नदेख्नुको अर्थ कि त उनको राजनीतिक चस्मा धमिलो भएको हुनुपर्छ, कि त सत्ताको समीकरणभित्र कतै ‘वातावरण’ बिग्रिने डर हुनुपर्छ। ‘चुनाव त हुन्छ भन्ठान्छ’ अबू भन्नुको अर्थ हो— मनमा अझै कताकता संशयको त्यान्द्रो बाँकी नै छ। विपक्षीलाई गलाउन र सरकारलाई तर्साउन ओलीको यो ‘वातावरण कार्ड’ निकै पुरानो भइसकेको छ। चुनाव भनेको कुनै पिकनिक होइन, जसका लागि आकाश खुलेको र शीतल हावा चलेको हुनुपर्छ, तर ओलीजीका लागि यो एउटा यस्तो मौसम हो जुन उनी आफूले चाहेको बेला मात्र खुलोस् भन्ने चाहन्छन्।

कांग्रेसको ‘नामकरण’ संस्कार: घोषणापत्र कि ‘लुकामारी’ पत्र ?
ओलीले वातावरण खोज्दै गर्दा सत्ता साझेदार दल नेपाली कांग्रेस भने ‘शब्दकोश’ पल्टाएर नयाँ शब्द खोज्न व्यस्त छ। कांग्रेसले यसपालि ठुलै क्रान्ति गरेझैँ गरी ‘घोषणापत्र’ लाई ‘प्रतिज्ञापत्र’ नामकरण गरेको छ। नाम फेर्दैमा काम फेरिने भए त नेपाल दशकौँअघि विकासको शिखरमा पुगिसक्थ्यो। कांग्रेसको ताल पनि झन् बेग्लै छ— बिहेको कार्ड छापेर जन्ती हिँड्ने बेलामा ‘बेहुलीको नाम बिग्रेछ’ भनेर कार्डै रद्द गरेजस्तो१ आइतबार सार्वजनिक गर्ने भनिएको घोषणापत्र अन्तिम समयमा स्थगित गरियो।

निर्वाचन आयोगलाई फागुन ४ गते नै बुझाउने, तर जनतालाई चाहिँ ६ गते मात्रै देखाउने— यो कस्तो खालको ‘गोप्य प्रतिज्ञा’ हो ? जनकपुरमा तामझामका साथ ‘प्रतिज्ञापत्र’ बाँड्ने तयारी गर्नुले कांग्रेस अझै पनि नीतिभन्दा बढी ‘नारा’ र ‘इभेन्ट’ मा विश्वास गर्छ भन्ने पुष्टि हुन्छ। कांग्रेस प्रवक्ताले जारी गरेको विज्ञप्ति पढ्दा लाग्छ, उनीहरूका लागि घोषणापत्र सार्वजनिक गर्नु भनेको कुनै ठुलो मसला फिल्मको ‘ट्रेलर’ रिलिज गर्नुजस्तै हो, जहाँ कन्टेन्टभन्दा बढी सस्पेन्सको खेती गरिन्छ। के ६ गते सार्वजनिक हुने प्रतिज्ञापत्रमा त्यस्तो कुनै जादुमयी छडी छ, जसले ४ गतेसम्म लुकाउनु पर्यो ?

मन्त्रीज्यूको ‘बेकुफ’ मन्त्र र महावीरको ‘हावा’ फायर
यो सबै राजनीतिक कोलाहलका बीच पूर्वमन्त्री रामकुमारी झाँक्रीले एउटा यस्तो ‘मिसाइल’ पड्काइन्, जसको छर्राले अहिले एमालेको साखलाई नै चुनौती दिइरहेको छ। सार्वजनिक कार्यक्रममा उनले ‘एउटा बेकुफ मन्त्री गरिखाना छोडेर मागिखाना हिँडेको छ’ भन्नु राजनीतिक संस्कारको कति तल्लो स्तर हो भन्ने कुराको प्रमाण हो। उनको संकेत आविष्कार केन्द्रका अभियन्ता महावीर पुनतर्फ थियो भन्ने बुझ्न कुनै ठुलो विशेषज्ञता चाहिन्न। देशका लागि आफ्नो जीवन र बुद्धि खर्चिरहेका व्यक्तिलाई ‘बेकुफ’ र ‘मागिखाने’ देख्ने नेतृत्वले देश बनाउने सपना बाँड्नु आफैँमा एउटा ठुलो जोक हो।

महावीर पुनले पनि यसको मुखभरीको जवाफ दिएका छन्। उनले एमालेका केही नेतालाई ‘कुदृष्टि भएका हावा नेता’को संज्ञा दिँदै एमाले सिद्धिँदै गएको टिप्पणी गरेका छन्। पुनको आक्रोश जायज छ, किनकि जसले आफ्नो पद र पावरको दुरुपयोग गरेर सरकारी ढुकुटी र आफ्नै राजनीतिक भविष्य सिध्याए, उनीहरूले नै आज चन्दा उठाएर सामाजिक काम गर्नेलाई ‘मगन्ते’ देखिरहेका छन्। झाँक्रीको यो अभिव्यक्तिले राजनीतिज्ञहरू कतिसम्म अहंकारी र जनताको भावनाबाट टाढा छन् भन्ने उदाङ्गो पारेको छ। पुनले अन्त्यमा ‘एमाले नेतालाई भगवानले सत्बुद्धि दिऊन्’ भन्नु त नेताहरूका लागि एउटा ठुलो व्यङ्ग्यात्मक झापड नै हो।

प्रचण्डको ‘बंगलादेश’ त्रास र ७५ लाखको डर
यो जात्रामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पछाडि परेका छैनन्। रुकुमको चुनवाङ पुगेर उनले बंगलादेशको कथा सुनाए। ‘७५ लाख फलोअर्स हुनेहरू हारे’ भन्दै उनले नेपालका नयाँ राजनीतिक शक्ति र सामाजिक सञ्जालमा सक्रिय युवाहरूलाई तर्साउन खोजेका छन्। आफैँले हिजो जनयुद्धका नाममा देशका संरचना डढाएको इतिहास बिर्सेर आज उनी अरूलाई ‘ध्वंस मच्चाउने’ र ‘देश जलाउने’ को बिल्ला भिराउँदै छन्।

बंगलादेशमा जे भयो, त्यो त्यहाँको आन्तरिक विद्रोह थियो, तर प्रचण्डले त्यसलाई नेपालको चुनावसँग जोडेर एउटा अनौठो ‘भयको राजनीति’ सुरु गरेका छन्। ‘हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन्’ भन्ने उनको भनाइमा आत्मविश्वास भन्दा बढी नयाँ शक्तिप्रतिको त्रास देखिन्छ। १० वर्ष सशस्त्र विद्रोह गरेर आएका प्रचण्डलाई आज ७५ लाख फलोअर्स भएका ‘भर्चुअल’ मान्छेहरूसँग यतिबिघ्न डर लाग्नु आफैँमा एउटा रोचक परिघटना हो। हिजो ‘सिंहदरबार जलाउने’ सपना बाँड्नेहरू आज ‘सिंहदरबार जल्यो’ भनेर चिन्ता गर्दै छन्— राजनीति साँच्चै नै समयको एउटा ठुलो चक्र रहेछ !

समग्रमा: जात्रा जारी छ, मूल्याङ्कन जनताको हातमा
समग्रमा हेर्दा, नेपालको राजनीति अहिले एउटा यस्तो दोबाटोमा छ, जहाँ पुराना खेलाडीहरू नयाँ नियम र नयाँ अनुहारसँग डराइरहेका छन्। ओलीजीलाई चुनावको वातावरण नदेखिनु, कांग्रेसलाई घोषणापत्रको नाम फेर्नु पर्ने बाध्यता हुनु, झाँक्रीले अभियन्तालाई ुबेकुफु देख्नु र प्रचण्डले बंगलादेशको भूत देखाउनु— यी सबै एउटै समस्याका फरक-फरक लक्षण हुन्। त्यो समस्या हो— जनताको बदलिँदो चेतना र पुरानो नेतृत्वप्रतिको चरम वितृष्णा।

अन्त्यमा,
नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने, अब जनतालाई ‘वातावरण’, ‘प्रतिज्ञापत्र’ वा ‘बंगलादेश’को कथा सुनाएर लामो समयसम्म झुक्याउन सकिनेवाला छैन। महावीर पुनजस्ता कर्मठ मानिसलाई ‘बेकुफ’ भन्नेहरू नै वास्तवमा राजनीतिक रूपमा कति ‘बेकुफ’ रहेछन् भन्ने कुराको फैसला अबको निर्वाचनमा जनताले नै गर्नेछन्। राजनीतिमा गाली र गफको खेती त चल्दै गर्ला, तर अन्त्यमा जनताले खोजेको चाहिँ आकर्षक ‘प्रतिज्ञापत्र’ को कागज होइन, ‘प्रतिबद्धता’ को परिणाम हो। यो चुनावी मौसममा मञ्चन भइरहेको जात्राले केही समयलाई मनोरञ्जन त देला, तर देशको भविष्य भने यी ‘हावा’गफभन्दा धेरै माथि छ। अबको मूल्याङ्कन कसले गर्छरु महावीर पुनले भनेझैँ— जनताले नै !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार