काठमाडौं । काठमाडौं महानगरपालिकाले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
‘राइट, जस्टिस्, याक्सन : फर अल ओम्यान एण्ड ग्रल’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ राष्ट्रिय नारासहित फागुन २४ गते कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार ‘पावर इन याक्सन हर टाइम इज नाउ’ शीर्षकमा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रको नेतृत्वमा रहेका महिलाहरूले आफ्नो नेतृत्व यात्राका अनुभव, संघर्ष, सिकाइ र भोगाइ साझा गर्नेछन् ।
एक महिलाले भोगेका अनुभव अर्को महिलाका लागि प्रेरणा र सिकाइ बन्न सक्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा प्रशासन, कानुन, समाज, उद्योग–व्यवसाय, नवप्रवर्तन, महिला अधिकार, लैङ्गिक उत्तरदायी सहर निर्माण, लैङ्गिक हिंसा न्यूनीकरण तथा उद्यमशीलतामार्फत महिलाको आर्थिक सशक्तीकरणजस्ता विषयमा छलफल गरिनेछ । साथै समाजका औपचारिक र अनौपचारिक नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्ना अनुभव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी महानगरपालिकाले सञ्चालन गर्दै आएका महिला लक्षित सेवा तथा कार्यक्रमहरूको झल्को दिने प्रदर्शनी पनि आयोजना गरिनेछ ।
‘एक वडा ः एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत उद्यमी महिलाहरूको जीवन्त कला प्रदर्शनी, महिला सञ्जाल, मेलमिलाप सेवा तथा न्यायिक सहजकर्तासम्बन्धी गतिविधिहरू पनि कार्यक्रममा प्रस्तुत गरिनेछ ।
महानगरपालिकाले लैङ्गिक समानता र महिला अधिकार संरक्षणका लागि ‘विवाद निरुपण कार्यविधि २०७५’, ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि २०७८’, ‘वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९’, ‘लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७८’, ‘मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका २०७९’ र ‘कानुनी सहायता कार्यविधि २०८०’ लगायत स्थानीय कानुन पनि कार्यान्वयनमा ल्याएको जनाएको छ ।
यी कानुन प्रभावकारी रूपमा लागू गर्न न्यायिक समिति, वडा महिला सञ्जाल, मेलमिलाप कक्ष तथा कानुन तथा मानव अधिकार विभागजस्ता संस्थागत संयन्त्रमार्फत काम भइरहेको महानगरपालिकाले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्