Skip to content

प्रधानमन्त्री बालेन शाहको कूटनीतिक ‘डेब्यू’: आशंकाको घेरामा विश्वासको खोजी

कालोपाटी

४ घण्टा अगाडि

– कालोपाटी एक्स्प्लेनर

नेपालको राजनीतिमा एउटा नयाँ युगको सुरुवात भएको छ । ‘जेन–जी’ (Gen-Z) पुस्ताको विद्रोह र वैकल्पिक राजनीतिको लहरबाट सत्ताको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ यतिबेला विश्व समुदायको सूक्ष्म निगरानीमा छन् । काठमाडौंको मेयरबाट सिधै देशको कार्यकारी प्रमुख बन्नु र झण्डै दुईतिहाइको समर्थन प्राप्त गर्नु आफैँमा एउटा राजनीतिक चमत्कार थियो । तर, सत्ताको कुर्सीमा बसेपछि उनले सामना गर्नुपर्ने सबैभन्दा कठिन परीक्षा घरेलु राजनीति नभई ‘कूटनीतिक सन्तुलन’ हुने देखिएको छ ।

प्रधानमन्त्री निर्वाचित भएपछि लामो समयसम्म विदेशी राजदूतहरूसँग भेट्न अस्वीकार गरेका बालेनले अन्ततः आज सामूहिक संवादमार्फत आफ्नो मौनता तोडेका छन् । यो संवाद केवल एउटा औपचारिक भेटघाट मात्र थिएन, बरु बदलिँदो नेपालको नयाँ कूटनीतिक मार्गचित्र (Roadmap) को संकेत पनि थियो ।

सामूहिक संवाद : ‘शक्ति राष्ट्र’लाई बालेनको सन्देश

सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै छिमेकी देश र शक्ति राष्ट्रका राजदूतहरू बधाई दिन लामवद्ध हुने परम्परा थियो । तर बालेनले यसपटक त्यो परम्परालाई पूर्णतः इन्कार गरिदिए । उनले व्यक्तिगत भेटघाटका लागि आएका दर्जनौँ प्रस्तावलाई पन्छाउँदै आज सबै राजदूतहरूलाई एउटै हलमा राखेर ‘सामूहिक संवाद’ गरे ।

यसको अर्थ स्पष्ट छ– बालेन कुनै पनि एक देशको प्रभावमा पर्न चाहँदैनन् र सबैलाई समान दुरीमा राखेर ‘सार्वभौम समानता’को सन्देश दिन चाहन्छन् । झण्डै दुई मिनेटको छोटो सम्बोधनमा उनले दुईवटा मुख्य कुरामा जोड दिए :

  • निरन्तरतामा क्रमभङ्गता होइन : नयाँ सरकार आउनुको अर्थ विगतका अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट पछि हट्नु होइन ।
  • नीतिगत स्थिरता : विदेशी लगानीकर्ता र शक्ति राष्ट्रहरूलाई उनले नेपालको नीति अब ‘पूर्वानुमानयोग्य’ (Predictable) हुने विश्वास दिलाउन खोजे ।

विगतमा सरकार परिवर्तन हुनासाथ नेपालको परराष्ट्र नीति र वैदेशिक लगानीका सर्तहरू परिवर्तन हुने गर्थे । बालेनले त्यसलाई तोड्ने प्रतिवद्धता जनाउनु अन्तर्राष्ट्रिय समुदायका लागि एक सकारात्मक संकेत त हो, तर के उनीमाथि विश्व समुदायले तत्कालै विश्वास गरिहाल्छ त ? यो नै अहिलेको मुख्य प्रश्न हो ।

‘अनप्रेडिक्टेबल’ बालेन र अन्तर्राष्ट्रिय संशय

अन्तर्राष्ट्रिय कूटनीतिमा ‘स्थिरता’ र ‘पूर्वानुमान’ सबैभन्दा महत्त्वपूर्ण मानिन्छन् । तर बालेनको छवि एउटा ‘अनप्रेडिक्टेबल’ (पूर्वानुमान गर्न नसकिने) नेताको रूपमा स्थापित छ । घरेलु राजनीतिमा उनले चालेका कतिपय कदमहरू, विशेष गरी काठमाडौंको मेयर हुँदाका निर्णयहरूले उनलाई ‘पपुलिष्ट’ तर जोखिमपूर्ण नेताका रूपमा चित्रण गरेका छन् ।

यही कारणले गर्दा छिमेकी मुलुक भारत र चीन मात्र होइन, पश्चिमा शक्तिहरू पनि बालेनप्रति सशंकित छन् । उनले कसलाई कतिबेला काखा र कतिबेला पाखा लगाउँछन् भन्ने कुराको ठोस आधार कूटनीतिज्ञहरूले फेला पार्न सकेका छैनन् । आजको संवादमा उनले आफूलाई ‘स्थिर’ देखाउन खोजे पनि व्यवहारिक रूपमा त्यसको परीक्षण हुन बाँकी नै छ ।

छिमेकीसँगको सम्बन्ध : चीनसँगको चिसोपना र भारतसँगको ‘रिझाउने’ प्रयास ?

बालेनको कूटनीतिक यात्रामा सबैभन्दा ठूलो चुनौती उत्तरी छिमेकी चीनसँग देखिन्छ । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा शितल निवासमा गरिएको धार्मिक अनुष्ठान र भिक्षुहरूको उपस्थितिप्रति चीनले गम्भीर चासो देखाएको छ । चीनले यसलाई ‘तिब्बती सन्दर्भ’ सँग जोडेर हेरेको छ, जसले गर्दा सुरुवातमै सम्बन्धमा केही चिसोपना आएको संकेत मिल्छ ।

चीनसँगको दूरी बालेनका लागि नयाँ भने होइन । मेयर हुँदा ठमेलमा चिनियाँ दूतावासको कार्यक्रम रोक्नु र चीनको औपचारिक निम्तोलाई अस्वीकार गर्नुले उनलाई चीनप्रति अनुदार नेताको रूपमा चित्रण गरिएको थियो । अझ झापाको ‘नेपाल–चीन मैत्रीपूर्ण औद्योगिक पार्क’ (बीआरआई अन्तर्गतको परियोजना) प्रति उनको मौनतालाई भारतीय सञ्चारमाध्यमहरूले ‘बालेन चीन विरोधी’ भएको अर्थमा व्याख्या गरिरहेका छन् ।

अर्कोतर्फ, शपथ ग्रहणमा वटुकहरूद्वारा स्वस्तिवाचन गराउनुलाई कतिपयले भारतलाई रिझाउने प्रयासका रूपमा टिप्पणी गरेका छन् । तर, भारत पनि बालेनप्रति पूर्ण विश्वस्त छैन । बालेनको ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने अडान र राष्ट्रवादी छविले भारतीय कूटनीतिज्ञहरूलाई सधैँ चनाखो बनाएको छ ।

पश्चिमा झुकावको चर्चा र शक्ति सन्तुलन

काठमाडौंको राजनीतिक वृत्तमा बालेनलाई ‘अमेरिकी लाइन’ वा पश्चिमा शक्तिसँग नजिक रहेको आरोप लाग्ने गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनको चुनावअघि जसरी एकसाथ प्रोफाइल प्रकाशित गरे, त्यसले यो शंकालाई मलजल गरेको छ ।

नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील देशका लागि कुनै एक शक्ति राष्ट्रतर्फ ढल्किनु आत्मघाती हुन सक्छ । बालेनले आजको संवादमार्फत आफूलाई ‘सन्तुलित’ देखाउन खोजे पनि अमेरिका, चीन र भारतको त्रिकोणात्मक स्वार्थको बीचमा उनले आफ्नो ‘नेपाल फस्ट’ (Nepal First) नीति कसरी लागू गर्छन्, त्यो हेर्न बाँकी छ ।

राजदूत नियुक्ति : कूटनीतिक कौशलको पहिलो अग्निपरीक्षा

कूटनीति केवल भाषणमा होइन, पात्रहरूमा देखिन्छ । बालेनले पद सम्हालेको केही दिनमै पाँच देशका (भारत, दक्षिण कोरिया, अस्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिका) राजदूतहरूलाई फिर्ता बोलाएका छन् । राजनीतिक भागवण्डाका आधारमा नियुक्त भएका यी राजदूतहरूलाई फिर्ता बोलाएर बालेनले कस्तो अनुहारलाई ती स्थानमा पठाउँछन्, त्यसले नै उनको वास्तविक कूटनीतिक दिशा तय गर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा उल्लेख भएअनुसार, ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा राजदूत नियुक्त गर्ने र उनीहरूको ‘पर्फर्मेन्स अडिट’ गर्ने कुरा बालेनका लागि एउटा अवसर हो । यदि उनले फेरि पनि पुरानै शैलीमा आफ्ना निकटस्थ वा दलीय कार्यकर्ता पठाए भने उनको ‘सुधार’ को नारा केवल एउटा भ्रम सावित हुनेछ । तर, यदि उनले योग्य र करियर कूटनीतिज्ञहरूलाई प्राथमिकता दिए भने नेपालको गिर्दो कूटनीतिक साख जोगिन सक्छ ।

आर्थिक कूटनीति र स्वर्णिम वाग्ले फ्याक्टर

बालेन सरकारको एउटा बलियो पक्ष भनेको अर्थमन्त्रीका रूपमा स्वर्णिम वाग्लेको उपस्थिति हो । विश्व बैंक, आईएमएफ र एसियाली विकास बैंकजस्ता दातृ निकायहरूसँग वाग्लेको राम्रो सम्बन्ध छ । यसले गर्दा ‘आर्थिक कूटनीति’ (Economic Diplomacy) मा नेपालले ठूलो फड्को मार्न सक्ने सम्भावना छ ।

रास्वपाको वाचापत्रमा भनिएझैँ, नियोगहरूमा ‘इकोनोमिक कन्सुलर’ थप्ने र बीआरआई वा अन्य वैदेशिक सहायतालाई राष्ट्रिय हितमा प्रयोग गर्ने योजना सफल भयो भने बालेनको लोकप्रियता कूटनीतिक वृत्तमा पनि बढ्नेछ । बालेनले आजको संवादमा पनि लगानीको सुरक्षा र नीतिगत स्थिरताको कुरा गरेर वैदेशिक लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयास गरेका छन् ।

अवसर र चुनौतीको दोबाटोमा बालेन

प्रधानमन्त्री बालेन शाहसँग अहिले अभूतपूर्व जनमत र दुईतिहाइको शक्ति छ । प्रतिपक्षी दलहरूको गिरेको ‘क्रेडिबिलिटी’ (विश्वसनीयता) ले उनलाई झनै शक्तिशाली बनाएको छ । तर, कूटनीतिमा घरेलु शक्तिले मात्र पुग्दैन, यहाँ ‘विश्वसनीयता’ को खडेरी छ ।

समग्रमा, 

बालेनका लागि छिमेकी र शक्ति राष्ट्रहरूसँगको ‘विश्वासको संकट’ हटाउनु नै पहिलो प्राथमिकता हुनुपर्छ । उनले आफूलाई ‘अनप्रेडिक्टेबल’ विद्रोहीबाट ‘जिम्मेवार राजनेता’ का रूपमा रुपान्तरण गर्नुपर्नेछ । आजको सामूहिक संवाद त्यसैको एउटा सांकेतिक सुरुवात हो । यदि उनले कूटनीतिक कौशल र नीतिगत स्थिरता कायम राख्न सके भने नेपालले विश्व मञ्चमा आफ्नो गुमेको सम्मान फिर्ता पाउन सक्छ । अन्यथा, कूटनीतिक अपरिपक्वताले नेपाललाई झनै ठूलो भू–राजनीतिक संकटमा धकेल्ने जोखिम पनि उत्तिकै छ ।

बालेनले यो सामर्थ्यलाई अवसरमा बदल्छन् कि चुनौतीको चाङमा हराउँछन् ? यसको जवाफ आगामी दिनमा उनले गर्ने राजदूत नियुक्ति र छिमेकीसँगको व्यवहारले दिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार